कोरोना भाइरसको कारण समस्यामा परेका नेपालीहरुलाई ल्याउन कतारबाट बिहिबार हुने भनिएको उडान रद्द भएको छ ।
स्वदेश फिर्तीका लागि तय भएको उडान प्राविधिक कारणले रद्द भएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचिब प्रबीण भट्टराईले जानकारी दिएका छन् ।
उनका अनुसार अर्को उडान कहिले हुन्छ भन्ने टुंगो लागेको छैन । विभिन्न कारणले समस्यामा परेका ५ हजार १ सय १२ जना प्राथमिकतामा परेका छन् भने ९६५ जनाको स्वदेश फिर्तीका लागि कम्पनीले नै दूतावासमा विवरण टिपाएका बताए ।
सरकारले कतारबाट नेपालीलाई ल्याउन जुन १६ र २० नेपाल एयरलाइन्सले तथा जुन १७ र २० मा हिमालय एअरलाइन्सले उडान भर्ने तालिका तय गरेको थियो । जुन १७ मा हुने उडान भने रद्द भएको दूताबासले जनाएको छ ।
दूतावासले आफन्तको मृत्यु भई काजकिरियाका लागि नेपाल फर्कनुपर्ने, सुत्केरी तथा गर्भवती, कोभिड-१९ बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य समस्या भएका बालबालिका, ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेको छ ।
अपांगता भएका व्यक्ति, अध्ययन समाप्त भएका विद्यार्थी, पारिवारिक पुनर्मिलनका लागि गएका, पर्यटक तथा व्यापारिक भिसामा गएका, श्रम करार अवधि समाप्त भएका वा रोजगारी गुमाएका, कतार आईडी र भिसा समाप्त भएका वा आईडी रद्द भएका, बेतलबी बिदामा रहेका लगायतलाई प्राथमिकता राखेको छ ।
आममाफी पाएका तथा डिपोर्टेशन केन्द्रमा रहेका नेपालीहरुलाई कतार सरकारले आफ्नै विमानमार्फत नेपाल फर्काउने प्रक्रिया अघि बढाएको समेत दूताबासले जानकारी दिएको छ ।