
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ का ११ महिने कोरोना सङ्क्रमित बालक सुशांक सुनार उपचारपछि महाकाली अस्पतालबाट सोमबार डिस्चार्ज भएका छन् ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. हरिकुमार श्रेष्ठले कोभिड–१९ आइसोलेसन व्यवस्थापनसम्बन्धी निर्देशिकानुसार आइसोलेसन कक्षमा १४ दिन पूरा भई उपचारपछि निको भएपछि बालक सुनारलाई डिस्चार्ज गरिएको बताए ।
एक हप्ता होम आइसोलेसनमा बस्ने गरी बालकलाई डिस्चार्ज गरिएको हो ।
होम आइसोलेसनमा बस्दा चिकित्सकको नियमित सम्पर्कमा रहने गरी र स्वास्थ्य मन्त्रालयको जारी निर्देशिकामा उल्लेख गरिएका कुराको पालना गर्नेलगायतका कुरा सम्झाएर पठाइएको डा. श्रेष्ठले बताए ।
कोरोना जितेका बालक र उनकी आमालाई टीका र खादा ओढाएर बिदाइ गरिएको थियो ।
अस्पतालको आइसोलेसनमा भर्ना भएका भीमदत्त नगरपालिका–२ का ५० वर्षीय, महाकाली नगरपालिका–३ का ३८ वर्षीय र काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका स्थाई ठेगाना भएपनि कञ्चनपुरमा बस्दै आएका १८ र ३८ वर्षीय पुरुषलाई पनि अस्पतालले आइतबार डिस्चार्ज गरेको थियो ।
महाकाली अस्पतालमा ३० कोरोना सङ्क्रमित उपचाररत छन् ।