
आज (मंगलबार) देशका धेरै ठाउँमा ठूलो (भारी) वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार प्रदेश ५ को गुल्मीदेखि पूर्व अधिकांश स्थानमा सोमबार रातिदेखि नै वर्षा भइरहेको छ भने देशका अन्य स्थानमा पनि भारी वर्षाको समेत सम्भावना छ।
‘आज गुल्मीदेखि पूर्वका सबैजसो क्षेत्रमा वर्षा तथा ५ नम्बरयता सबै प्रदेशका एक–दुई स्थान एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ,’ मौसमविद् कँडेलले भनिन्, ‘त्यसैले यी क्षेत्रमा आज बाढी आउने, पहिरो जाने, यातायात अवरुद्ध हुने खतरा छ, सतर्कता अपनाउन आवश्यक छ।’
यस्तै काठमाडौं उपत्यकामा पनि सोमबार रातिदेखि नै वर्षा भइरहेको छ भने आज दिउँसो यहाँ पनि ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्को अनुमान छ।
मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहानै ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छः
देशभर धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनाका साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ, जसका कारण ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायातसमेत प्रभावित हुने सम्भावना रहेको हुनाले सबैले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
मौसमविद् शान्ति कँडेलका अनुसार पूर्वबाट फैलिँदै मनसुनले प्रदेश ५ छोइसकेको छ। तसर्थ यस प्रदेशको गुल्मीदेखि भारी वर्षाको सम्भावना बढेको हो। कर्णाली र सुदूरपश्चिममा भने अहिलेसम्म मनसुन पुगेको छैन। त्यहाँ पश्चिमी वायुकै प्रभाव छ। त्यस प्रदेशका पनि थोरै स्थानमा वर्षाको सम्भावना रहेको उनले जानकारी दिइन्।