
मंगलबार गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखामा १०, स्याङ्जामा ४, पूर्वी नवलपरासीमा २, कास्की र बाग्लुङमा एक–एक जना कोरोना संक्रमित फेला परेका हुन् ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय २३ पुगेको छ ।
गोरखा नगरपालिकाका २१ देखि ५३ वर्षका ७ पुरुष र १ महिला, गोरखाकै बारपाक सुलिकोट गाउँपालिकाका ५३ र २५ वर्षका २ जना पुरुष, स्याङ्जाको चापाकोट नगरपालिकाका १८, ३५, ३९ र १८ वर्षका चार जना पुरुष, पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका र मध्यविन्दु नगरपालिकाका एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै, कास्कीको पोखरा महानगरपालिकाका २१ वर्षीय पुरुष र बाग्लुङको ताराखोला गाउँपालिकाको ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
उनीहरु सबै जना भारतबाट फर्केर क्वारेन्टाइनमा बस्दैआएका थिए । संक्रमित सबै जनालाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।.
उनका अनुसार हालसम्म गण्डकीमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने २० जना निको भएर घर फर्किएका छन्।