कोरोना संक्रमितको संख्या विश्ववर ८१ लाख नाघेको छ ।
नेपाली समयअनुर मंगलबार बिहान साढे ६ बजेसम्मको तथ्यांकअनुसार विश्वभर कोरोनाबाट सङ्क्रमितको संख्या ८१ लाख १२ हजार ५ सय ६५ पुगेको हो ।
हालसम्म ४ लाख ३९ हजार ५० जनाको कोरोनाको कारण निधन भएको छ भने ४२ लाख १ हजार ९ सय ७४ जना निको भएका छन् ।
तथ्यांकलाई विश्लेषण गर्ने हो भने सङ्क्रमित मध्ये ५ दशमलव ४१ प्रतिशत व्यक्तिहरुले ज्यान गुमाएका छन् भने आधाभन्दा बढी अर्थात ५१ दशमलव ८० प्रतिशत सङ्क्रमितहरु निको भएका छन् । कोरोनाबाट ज्यान गुमाउनेहरुको संख्या अरु रोगबाट ज्यान गुमाउनेको भन्दा थोरै छ ।
सबैभन्दा धेरै कोरोना सङ्क्रमित हुनेहरु देशको सूचीमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो नम्बरमा ब्राजिल छ । त्यसपछि क्रमशः रुस, भारत, बेलायत, स्पेन, इटली, पेरु लगायत देश छन् ।
पछिल्लो तथ्यांकअनुसार अमेरिकामा २१ लाख ८२ हजार ९ सय ५० जना सङ्क्रमित फेला पर्दा १ लाख १८ हजार सय ८३ जनाले ज्यान गुमाएका छन् भने ८ लाख ८९ हजार ८ सय ६६ जना निको भएका छन् । अमेरिकाका विभिन्न अस्पतालमा ११ लाख ७४ हजार ८ सय १ जना उपचार गराइरहेका छन् जसमध्ये १६ हजार ७ सय १४ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
दोस्रो धेरै सङ्क्रमित रहेको मुलुक ब्राजिलमा ८ लाख ९१ हजार ५ सय ५६ जना सङ्क्रमित फेला पर्दा ४४ हजार १ सय १८ जनाले ज्यान गुमाएका छन् भने ४ लाख ५३ हजार ५ सय ६८ जना निको भएर घर फर्केका छन् । त्यहाँका विभिन्न अस्पताहरुमा ३ लाख ९३ हजार ८ सय ७० जना उपचार गराइरहेका छन् जसम्धये ८ हजार ३ सय १८ जनाको अवस्था चिन्ताजनक रहेको पाइएको छ ।
तेस्रो बढी सङ्क्रमित फेला परेको देश रसिया हो । त्यहाँ मृत्युदर भने कम छ । ५ लाख ३७ हजार २ सय १० जना सङ्क्रमितहरु भेटिँदा ७ हजार ९१ जनाले ज्यान गुमाएका छन् ।
हाम्रो छिमेकी मुलुक भारत सङ्क्रमितको संख्यामा विश्वमै चौथो नम्बरमा रहेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले उपलव्ध गराएको तथ्यांक अनुसार भारतमा अहिलेसम्म ३ लाख ४३ हजार २६ जना सङ्क्रमित भेटिएका छन् जसममध्ये ९ हजार ९ सय १५ जनाले ज्यान गुमाएका छन् ।
संक्रमित कम भएपनि बढी व्यक्तिहरुले ज्यान गुमाउने देशहरुको सूचीमा बेलायत, इटालि, फ्रान्स, स्पेन र मेक्सिको रहेका छन् ।
बल्डमिटर डट इन्फोमा रहेको पछिल्लो विवरणअनुसार बेलायतमा ४१ हजार ७ सय ३६, इटालीमा ३४ हजार ३ सय ७१, फ्रान्समा २९ हजार ४ सय ३६, स्पेनमा २७ हजार १ सय ३६ र मेक्सिकोमा १७ हजार ५ सय ८० जनाले ज्यान गुमाइसकेका छन् ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको कोरोना भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको छ ।
नेपालमा भने १ लाख ३८ हजार ६ सय ८३ जनामा परिक्षण गर्दा ६ हजार २ सय ११ जना सङ्क्रमित फेला परेका छन् तीमध्ये १ हजार ४१ जना उपचारपछि निको भएर घर फर्केका छन् भने १९ जनाको मृत्यु भएको छ । देशभरका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरमा ५ हजार १ सय ५१ जनाले उपचार गराइरहेका छन् ।