ओमानबाट १६६ यात्रु बोकेर सलाम एयरको जहाज काठमाडौं विमानस्थलमा अवतरण गरेको छ ।
कोरोना भाइरसका कारण अप्ठ्यारोमा परेका नेपालीहरुको हवाई टिकट व्यवस्थापनका सम्बन्धमा ओमानस्थित नेपाली राजदूतावाससँगको सहकार्यमा सलाम एयरले नेपालीलाई सुलभ दरमा टिकट उपलब्ध गराएको जनाएको छ ।
नेपाल सरकारले विदेशमा बस्ने कोभिड–१९ बाट प्रभावित नेपालीलाई सम्बन्धित देश तथा नेपाल सरकारले निर्धारण गरेको मापदण्ड पालना गरी आवश्यक प्रक्रियापश्चात् नेपाल आउन सहजीकरण गर्ने निर्णय गरिसकेको छ ।
सरकारले ६२ हजार भाडा तोकेको अवस्थामा ओमानको दूतावासले सलाम एयरमार्फत ३४ हजार रुपैयाँमा नै कामदारलाई काठमाडौं ल्याउने गरी सूचना निकालेको थियो । दूतावासले सरकारले तोकेकोभन्दा आधा सस्तोमै चार्टर्ड उडान गर्ने भनेपछि सरकारको बदमासीको पोल खुल्न थाल्यो ।
त्यसपछि सरकारले फेरी भाडा घटाएर ओमानबाट काठमाडौंको लागि ४६० अमेरिकी डलरबाट घटाएर ३६८ डलरमा मा झारिएको छ । आजको विनिमयदर १ अमेरिकी डलर बराबर १ सय २१ रुपैया ५० पैसालाई आधार मान्दा उक्त भाडादर ४४ हजार ५ सय ४६ रुपैंया हुन्छ । जुन सलाम एयरको भाडा भन्दा प्रतिव्यक्ति रु १० हजार ५ सय रुपैंया बढी हो ।
र यो पनि पढ्नुहोस् :
हिमालय एयरलाइन्सले चार्टर्ड उडानको भाडा सार्वजनिक गर्यो ? कुन देशबाट आउँदा कति लाग्ने (तालिकासहित)
विदेशमा वेखर्ची भएका बसेका नेपालीहरु भने सरकारले उद्दारको नाममा व्यापार गरिरहेको आरोप लगाइरहेका छन् ।
एकजना नेपाली कामदार विदेश जाँदा तिर्नुपर्ने श्रमस्वीकृति वापतको कल्याणकारी कोषमा ६ अर्ब भन्दा बढी रकम जम्मा भएको छ । त्यही रकम यो उद्दारमा खर्च गर्नुपर्ने माग पनि उठिरहेको छ ।
मजदुर विदेश गएर पैसा कमाएपछि होइन, जानुअघि नै कोषमा पैसा जम्मा गरेपछि मात्र श्रमस्वीकृति पाउँछन् । त्यो कोषमा ६ अर्ब रुपैयाँभन्दा बढी जम्मा भएको छ। मजदुर अप्ठ्यारोमा पर्दा त्यो कोष परिचालन हुन सक्दैन भने कोषको प्रयोजन के हो ? भन्दै प्रश्नहरु उठ्न थालेका छन् ।