
हिमालय एयरलाइन्सले आफ्नो चार्टर्ड उडानको मिति र भाडादर सार्वजनिक गरेको छ। एयरलाइन्सले जुन २० भित्रमा विदेशमा अलपत्र नेपाली फर्काउन गरिने चार्टर्ड उडानको विवरण सार्वजनिक गरेको हो ।
हिमालयले सार्वजनिक गरेको भाडादर अनुसार कोलम्बो र मालेबाट काठमाडौंसम्मको भाडादर ३८० डलर तोकिएको छ । सो उडान जुन १६ (मंगलबार) हुनेछ । जुन १७ गते हिमालयको गन्तव्य ढाका, सिंगापुर र नोम पेङ छन् । ढाकाबाट काठामाडौं आउने यात्रुसँग हिमालयले १६५ डलर उठाउनेछ भने दुई स्थानबाट काठमाडौंसम्मको भाडादर समान ५२० डलर छ ।
जुन १८ मा हिमालयनले दमाम र क्वालालम्पुरबाट नेपालीलाई ल्याउँदै छ । दमामबाट आउन चाहनेले ४६५ र क्वालालम्पुरबाट आउन चाहनेले ३७२ डलर तिर्नुपर्नेछ । जुन १९ मा भने हिमालयनले पुरानै गन्तव्यबाट उडान भर्ने जनाएको छ । जसमा दमामको भाडादर ४६५ डलर कायम छ भने मालेबाट आउन चाहनेले अघिल्लो उडानभन्दा सय डलर बढी तिर्नुपर्नेछ ।
जुन २० मा हिमालयनले अबुधाबीबाट यात्रु ल्याउनेछ भने ढाकाबाट अर्को उडान गर्नेछ । आबुधाबीको भाडा *३८५ डलर तोकिएको छ । सोही दिन ढाकाबाट आउने उडानका लागि पुरानै दर तोकिएको छ ।
हेर्नुहोस सूची
मिति | शहर / देश | भाडादर ($)मा | भाडादर नेपालीमा |
---|---|---|---|
जून १६ | कोलम्बो श्रीलका/माले, माल्दिभ्स | ३८० | ४५,९९९ |
जून १७ | ढाका, बंगलादेश | १६५ | १९,९७३ |
सिंगापुर/ नोम पेन्ह, कम्बोडिया | ५२० | ६२,९४६ | |
जून १८ | क्वालालम्पुर, मलेसिया | ३७२ | ४५,०३१ |
दमाम, साउदी अरेविया | ४६५ | ५६,२८८ | |
जून १९ | दमाम, साउदी अरेविया | ४६५ | ५६,२८८ |
माले, माल्दिभ्स | ४८० | ५८,१०४ | |
जून २० | अवुधाबी, यु.ए.ई | ३८५ | ४६,६०४ |
ढाका, बंगलादेश | १६५ | १९,९७३ |
सरकारले नीजी क्षेत्रबाट सञ्चालित भएको एयरलाइन्सलाई आफू अनुकुल भाडा तोक्न सहुलियत दिएको छ ।
विदेशमा वेखर्ची भएका बसेका नेपालीहरु भने सरकारले उद्दारको नाममा व्यापार गरिरहेको आरोप लगाइरहेका छन् ।
एकजना नेपाली कामदार विदेश जाँदा तिर्नुपर्ने श्रमस्वीकृति वापतको कल्याणकारी कोषमा ६ अर्ब भन्दा बढी रकम जम्मा भएको छ । त्यही रकम यो उद्दारमा खर्च गर्नुपर्ने माग पनि उठिरहेको छ ।
मजदुर विदेश गएर पैसा कमाएपछि होइन, जानुअघि नै कोषमा पैसा जम्मा गरेपछि मात्र श्रमस्वीकृति पाउँछन् । त्यो कोषमा ६ अर्ब रुपैयाँभन्दा बढी जम्मा भएको छ। मजदुर अप्ठ्यारोमा पर्दा त्यो कोष परिचालन हुन सक्दैन भने कोषको प्रयोजन के हो ? भन्दै प्रश्नहरु उठ्न थालेका छन् ।
हिमालय एयरलाइन्सले भाडादर सार्वजनिक गरे पनि ८५ प्रतिशत अकुपेन्सी यात्रु भएको खण्डमा मात्र उडान गर्ने शर्त राखेको छ । त्यस्तै यात्रुहरुले विमानमा चढ्नअगावै आफ्नै खर्चमा PCR वा RDT परिक्षणको नेगेटिभ नतिजा आएको प्रमाणपत्र पेश गर्नुपर्ने हुन्छ ।
*सच्चाइएको