
विश्वभर कोरोना सङ्क्रमितको संख्या ८० लाख हाराहारीमा पुगेको छ ।
नेपाली समयअनुसार बिहान साढे ७ बजेसम्मको तथ्यांक अनुसार विश्वभर कोरोना भाइरसबाट सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या ७९ लाख ८४ हजार ४ सय ३२ पुगेको हो । केही घन्टापछी यो सङ्ख्या ८० लाख नाघ्नेछ ।
अहिलेसम्म कोरोना भाइरसको कारण ज्यान गुमाउनेको सङ्ख्या ४ लाख ३५ हजार १ सय ७७ पुगेको छ भने ४१ लाख ०४ हजार ३ सय ७३ जना उपचारपछि निको भएर घर फर्केका छन् ।
तथ्यांकलाई विश्लेषण गर्नेहो भने विश्वभरको मृत्युदर ५ दशमलव ४५ प्रतिशत रहेको छ भने निको हुनेहरु ५१ दशमलव ४० प्रतिशत रहेका छन् ।
कोरोना भाइरसको सङ्क्रमण सबैभन्दा बढी अमेरिकामा रहेको छ । यो समाचार तयार पार्दासम्म २१ लाख ६२ हजार १ सय ४४ जना सङ्क्रमितहरु फेला परेका छन् । जुन विश्वको संङ्क्रमितको २७ दशमलव ०७ प्रतिशत हो । त्यहाँ यस रोगको सङ्क्रमणबाट १ लाख १७ हजार ८ सय ५३ जनाको निधन भैसकेको छ भने ८ लाख ६७ हजार ८ सय ४९ जना निको भएर घर फर्केका छन् । अहिलेपनि अमेरिकाको विभिन्न अस्पतालहरुमा ११ लाख ७६ हजार ४ सय ४२ जनाले उपचार गराइरहेका छन् जसमध्ये १६ हजार ७ सय ४ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
ब्राजिलमा ज्यान गुमाउनेको संख्या ४३ हजार नाघ्यो
ब्राजिलमा कोरोना संक्रमितको मृत्युदर निकै तीव्र गतिमा बढिरहेको छ।
अहिलेसम्म त्यहाँ ४३ हजार ३ सय ८९ जनाको मृत्यु भइसकेको छ। कोरोनाबाट अति प्रभावित मुलुकको सूचीमा ब्राजिल अहिले दोस्रो स्थानमा छ। अमेरिकापछि ब्राजिलमा सबैभन्दा धेरै संक्रमित भेटिएका छन् भने मृत्यु हुनेको संख्या पनि सोही अनुसार छ।
नेपालको दक्षिणी छिमेकी देश भारतमा ३ लाख ३३ हजार ८ जना संक्रमित भेटिएका छन् भने ९ हजार ५ सय २० जनाको मृत्यु भएको छ।
हाम्रो देशमा १ लाख ३३ हजार ३ सय ७७ जनाको पीसीआर परिक्षण गर्दा ५ हजार ७ सय ६० जनामा कोरोना सङक्रमण देखिएको छ भने ९ सय ७४ जना निको भएर घर फर्किसकेका छन् । कोरोनाको कारणले १९ जनाले ज्यान गुमाइसकेका छन् भने दैनिक ५ देखि ६ हजारको हाराहारीमा कोरोना परिक्षण गर्दा ३ देखि ४ सय जना नयाँ सङ्क्रमितहरु फेला परिरहेका छन् ।