
सुदूरपश्चिम प्रदेशमा हालसम्म कोरोना सङ्क्रमण देखिएकामध्ये झण्डै ९२.८५ प्रतिशत नागरिक भारतबाट फर्किएका रहेका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म सुदूरपश्चिममा २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
सङ्क्रमितमध्ये दुईजनाको मृत्यु र २६ जना निको भएर घर फर्किसकेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका तथ्याङ्क सहायक धर्मानन्द गिरीका अनुसार सङ्क्रमितमध्ये २ सय ३४ जना भारतबाट फर्किएकाहरुमा देखिएको छ ।
त्यसैगरी सुदूरपश्चिममा भारतबाट बाहेक एकजना दुबईबाट फर्किएका धनगढीका युवकमा यहाँ पहिलोपटक कोरोना सङ्क्रमण देखिएको थियो । उनी अहिले उपचारपछि निको भइसकेका छन् । “अहिले तीन सुरक्षाकर्मी, चार स्वास्थ्यकर्मी र दुईजना सवारी चालकमा समेत सङ्क्रमण देखिएको छ” निर्देशनालयका तथ्याङ्क सहायक गिरीले भने , “सङ्क्रमितमध्ये ९२.८५ प्रतिशत भारतबाट फर्किएकाहरुमा देखिन्छ ।”
त्यसैगरी सुदूरपश्चिम घर भई अन्यत्र जिल्लामा रहेकाहरुमा समेत कोरोना सङ्क्रमण देखिएर यहाँ उपचार भइरहेको छ । “डडेल्धुराका एक कर्मचारी, एक कैलालीका वडाध्यक्ष, बाँके, काठमाडौँ, वीरगञ्ज र इटहरीबाट आएका १-१ जनामा समेत सङ्क्रमण देखिएको छ” उनले भने, “सङ्क्रमितहरुको उपचार भइरहेको छ ।”
भारतबाट आएर कोरोना सङ्क्रमण पुष्टि हुनेमा अधिकांश त्यहाँका क्वारेन्टिनमै बसेको अवस्थामा देखिएको छ । त्यहाँका ८८ वटा स्थानीय तहमा सञ्चालनमा रहेको क्वारेन्टिनमा ९ हजार ९ सय ४७ महिला र ४९ हजार ४ सय ८५ पुरुष गरी ५९ हजार ४ सय ३२ जना रहेका छन् । शनिबारसम्म सुदूरपश्चिम प्रदेशको कैलालीमा ८३, कञ्चनपुरमा ५४, डडेल्धुरा ३९, बाजुरा २०, अछाम १५, बझाङमा १४, दार्चुलामा १२, डोटीमा ९ र बैतडीमा ६ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
क्वारेन्टिनमा बसिरहेकाहरुले १४ दिन पूरा गरिसक्दा पनि सङ्क्रमण जाँच नहुँदा आक्रोश व्यक्तसमेत गरेका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० स्थित कृष्ण उच्च माविमा क्वारेन्टिन बसिरहेका लक्ष्मण चौधरीले समयमा जाँच हुनुपर्ने बताए । “लालबालासहित परिवारकै १६ जना भारतको गुजरातबाट आएर यहाँ क्वारेन्टिन बसिरहेका छौँ”, उनले भने, “यहाँ त अरू व्यवस्थापन त परै जाओस् लामखुट्टेले टोकेर हैरान बनाएको छ । यसैले अर्को रोग लाग्ला भन्ने डर छ ।” नगरपालिकाभित्र आरडिटी पोजेटिभ देखिएका सबैलार्ई यहाँ ल्याएर राखिरहेकाले खाना, पानी सबै एउटैमा हुँदा सङ्क्रमणको जोखिम झन् बढेको उनको भनाइ छ ।
क्वारेन्टिनबाट कोरोना परीक्षण नगरी घर पठाइएका ११ जनामा कञ्चनपुरको लालझाडी गाउँपालिकामा सङ्क्रमण देखिएको थियो । लालझाडी गाउँपालिका अध्यक्ष मदनसेन बडायकले परीक्षणका लागि किट अभाव रहेको स्विकार गरे । उनले गाउँपालिकामा एकजना स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना सङ्क्रमण देखिएको जानकारी दिए ।