
जिल्ला प्रशासन कार्यालय काठमाडौंले नयाँ पास बन्द गरेको छ । आइतबार जिप्रकाले सूचना जारी गर्दै काठमाडौं जिल्लाभरि पास बन्द गराएको जानकारी दिएको हो ।
जेठ २८ गतेको निर्णयले जोरबिजोर प्रणालीमा निजी सवारी सञ्चालन गर्ने निर्णय गरेपछि पास बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्तै काठमाडौँमा बसोबास गर्ने र जिल्ला बाहिर रहेका मानिसलाई समेत ल्याउन व्यवस्था मिलाएको जानकारी दिएको छ ।
त्यसको लागि काठमाडौँको कुन नगरपालिकामा बस्ने हो सोही नगरपालिकाले प्रवेशको लागि दिएको अनुमति सहित यात्रा शुरु गर्ने जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन आग्रह गरिएको छ ।
त्यसपछि जिल्ला प्रशासन कार्यालयले कोरोना सङ्क्रमणको जोखिम निर्धारण, फर्किनुको औचित्य आदिको विश्लेषण गरेर पास उपलब्ध गराउने जानकारी गराएको छ । काठमाडौँबाट बाहिर जानको लागि भने व्यक्तिगत र संस्थागत आवश्यकता देखाएर कागजपत्र पेश गर्न अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जेठ ३२ गते जारी गरेको सूचनामा सवारी पासको सहजीकरणका लागि प्रशासकीय अधिकृत कमल प्रसाद पाण्डे लाई मोबाइल नम्बर ९८४९८५२०५८ र अर्का प्रशासकीय अधिकृत मान बहादुर बुढालाई मोबाइल नम्बर ९८५११६६२७६ मा सम्पर्क गर्न सकिने जानकारी दिएको छ ।
यो सूचनासँगै राजधानी आउनको लागि सर्वसाधरणहरुले थप झण्झट पाउनुपर्ने देखिएको छ । बाहिरी जिल्लामा रहेका मानिसहरुले राजधानीमा आफू आउनुपर्ने नगरपालिकाबाट प्रवेशको अनुमति लिन समस्या देखिन्छ ।