
सरकारले कोरोना भाइरस संक्रमणको परीक्षण गर्ने अनुमति नीजि प्रयोगशालालाई पनि दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णयवाट निजी प्रयोगशालालाई पनि पीसीआर परीक्षणको अनुमति दिएको हो ।
निजी प्रयोगशालामा सरकारले हाल संकलन गरेका नमूना मात्रै परीक्षणका लागि दिइएको हो । परीक्षण गरे बापतको रकम सरकारले प्रयोगशालालाई उपलब्ध गराउने मन्त्रालयले जनाएको छ । व्यक्तिगत रुपमा नीजि प्रयोगशालामा पुगेर आफै परिक्षण गर्न भने पाइदैन ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले प्रमाणित गरेको प्रयोगशालाले परीक्षणको अनुमति पाउनेछन ।
कोरोना भाइरसको पीसीआर विधिबाट परीक्षणका लागि निजी क्षेत्रका २० प्रयोगशाला र अस्पतालले अहिलेसम्म इच्छा देखाएका छन । ९ वटा प्रयोगशालाले अहिले नै आफूहरुसँग पीसीआर मेसिन रहेको भनी आशयपत्र दिएका छन् ।
अन्य ११ वटाले अहिले नै मेसिन नभएको तर अनुमति पाए एक महिनाभित्र मेसिन ल्याउने बताएका छन् । देशभरका सरकारी प्रयोगशालामा संकलन गरिएका नमूना लामो समयसम्म थन्किएपछि सरकारले नीजिलाई पनि अनुमति दिने निर्णय गरेको हो । त्यस्तै सरकारले पाटन, वीर र त्रिवि शिक्षण अस्पतालमा भिसा तथा निरोगिताको प्रमाणपत्रका लागि पिसीआर परीक्षण गराउने व्यवस्था पनि गरेको छ ।
नीजिमा पनि परिक्षण गर्ने भएपछि अहिले दैनिक हुँदै आएको ४ देखि ५ हजारको दायरा बढेर माथि पुग्ने बताइएको छ ।