
कोरोना भाइरसको महामारीका कारण जारी लकडाउनले विद्यालय जानबाट बञ्चित भएका विद्यार्थीहरुका लागि सरकारले असार १ गतेबाट रेडियो र टिभीबाट कक्षा सञ्चालन गर्ने भएको छ ।
एफएम, टिभी र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमार्फत् सरकारले विद्यार्थीहरुलाई पढाउन सुरु गर्ने तयारी थालेको हो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा. तुलसीप्रसाद थपलियाले टेलिभिजनमा कक्षा एकदेखि आठ कक्षासम्मको पढाइ शुरु हुने रुटिन समेत जारी भइसकेको जानकारी दिए ।
उनका अनुसार असार १ गतेदेखि असार ३१ गतेसम्म विषयगत पाठहरु नेपाल टेलिभिजनको एनटिभी प्लसबाट पढाइ हुने छ । यस्तै कक्षा ९ र १० को विषयगत पाठहरु भने डिस होम, नेट टिभी, म्याक्स टिभीको स्कुल एजुकेसन च्यानलबाट प्रसारण हुनेछ ।
विद्यालयहरु तत्कालै खुल्ने अवस्था नरहेकाले वैकल्पिक विधिबाट पढाउने प्रक्रिया अघि सारिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा. थपलियाले बताए ।
विद्यार्थीहरुलाई पढाउन स्थानीय तहरुले स्थानीय एफएमको पनि प्रयोग गरिरहेको उनले बताए । रेडियो नेपाल र थुप्रै एफएमबाट पनि पढाउने व्यवस्था मिलाइएको डा. थपलियाले बताए ।
शिक्षा मन्त्रालयको सहकार्यमा नेपाल टेलिभिजनको एनटिभी प्लस च्यानलबाट बिहान ९ः०० देखि साँझ ५ः४० बजेसम्म विभिन्न अनिवार्य विषयमा क्रमशः कक्षा १ देखि १० सम्मका विषयका शिक्षकले भिडियो माध्यमबाट पढाइ थालेका छन् । कक्षा ९ र १० का विषयगत पाठहरू डिसमिडिया नेटवर्क लिमिटेड, डिसहोम, एनआइटिभी स्ट्रिम प्रालि, नेट टिभी, मेगा म्याक्स टिभीबाट कक्षा सञ्चालन हुँदैछ ।
यही जेठ २८ गतेदेखि काठमाडौँ महानगरपालिको शिक्षा विभागको सहकार्यमा मेट्रो एफएम ९४ दशमलव ६ मा हरेक दिन बिहान ९ देखि साँझ ५ः३० बजेसम्म कक्षा १ देखि १० सम्मका विषयमा पढाइ गराइएको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को सहकार्यमा जनता टेलिभिजन, टिभी टुडे र योहो टिभीबाट पनि नियमित कक्षा सञ्चालन हुन थालेको छ । विभिन्न जिल्लामा सामुदायिक रेडियोले पनि कक्षा शुरु गरेका छन् ।
काठमाडौँ महानगरले शुरु गरेको रेडियोमार्फतको पढाइमा महानगरपालिकाभित्रका ९१ सार्वजनिक विद्यालय, तीन विशेष विद्यालय र ६४३ संस्थागत (निजी) विद्यालयमा अध्ययनरत तथा आसपासका विद्यार्थी प्रत्यक्ष–अप्रत्यक्षरूपमा लाभान्वित हुनेछन् ।
यद्यपि काठमाडौँकै धेरैजसो अभिभावकका पनि स्मार्टफोन, ट्याब्लेट, ल्यापटप कम्प्युटर, इन्टरनेट नहुने, बिजुली गइरहने समस्याले अनलाइन कक्षाको पहुँच सहज नभएको पाइएको छ । गत चैत ११ गतेदेखि जारी भएको बन्दाबन्दीका कारण सबै तहका शिक्षालयको पठनपाठन र परीक्षा स्थगन छन् ।
यस्तो छ समय तालिका