
गुल्मीका कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ ।
रेसुङ्गा नगरपालिका वडा नम्बर–९ स्थित उपल्लो तम्घासमा आइसोलेसनमा उपचाररत धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोक निवासी ३६ वर्षीय पुरुषको गएराति मृत्यु भएको उपचारमा खटिएका डा. कविराज भुसालले बताए ।
गुल्मीका कोरोना संक्रमित बिरामीको अवस्था गम्भीर बनेपछि उनकै उपचारमा संलग्न एक जना स्वास्थ्यकर्मीले रगत दिएकी थिइन् । धुर्कोट गाउँपालिकाका ३६ वर्षीय संक्रमितको उपचारमा खटिएकी स्वास्थ्यकर्मी सीता छन्त्यालले रगत दिएको गुल्मी अस्पतालका डा. उत्तम पच्चाले बताए ।
डाक्टर पच्चाका अनुसार दुई वर्षदेखि आन्द्राको क्यान्सरबाट पीडित ती कोरोना संक्रमितमा रक्त अल्पताको समस्या देखिएपछि स्वास्थ्यकर्मी छन्त्यालले रगत दान गरेकी थिइन् ।
भारतबाट आएर धुर्कोटको क्वारेन्टिनमा रहेका बेला जेठ १२ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनले जेठ १३ गतेदेखि तम्घासमा रहेको आसोलेसनमा राखेर उपचार सुरु गरिएको थियो ।
तर उनी २ वर्षदेखि आन्द्राको क्यान्सरबाट पनि पीडित भएकाले उपचार कठिन भएको थियो । उनमा रक्त अल्पताको समस्या देखिएपछि उनकै उपचारमा खटिएकी स्वास्थ्यकर्मीले रगत दिएकी थिइन् । उनको ३ पटकसम्म गरिएको स्वाब परीक्षणमा पोजिटिभ रिपोर्ट आएको थियो ।