
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रले गुमाएको नेपाली भूमि गणतन्त्रले फिर्ता ल्याउन संविधान संसोधन गर्न लागेको भन्दै गर्व महशुश गरेको बताएका छन् ।
संसदमा दोस्रो संविधान संसोधन विधेयकमाथिको दफावार छलफलका क्रमको शुरुमै बोल्दै प्रचण्डले नेपालको संविधान संसोधनका लागि सबै दलको सहमति भएको भदै खुसी व्यक्त गरे । उनले लोकतन्त्र, संघीयतालाई मजबुत बनाउन सबै दल मिल्नुको विकल्प नभएको उनले बताए ।
प्रचण्डले भने, ‘कसैले जश लिने र अपजश लिने भन्दा पनि नेपाली जनताले गर्दै आएको केन्द्रिकरणको रुपमा देशको गमेको भूभाग फिर्ता लिन नयाँ चरणमा आइपुगेका हौं । यति गम्भिर राष्ट्रिय विषयलाई सर्वदलीय सहमति बनाउँदै अहिले सरकारले संविधान संसोधनद्वारा संविधानमा रहेको नक्सा सच्याउने पहलकदमीलाइए धन्यवाद भन्न चाहन्छु ।’
यसै क्रममा सरकारले अहिले ल्याएको नेपालको संविधान संशोधन विधेयक ल्याउनु पनि भारतीय हस्तक्षेपविरुद्धको महत्वपूर्ण कदम रहेको बताए । यद्यपि उनले भारतसँग कूटनीतिक सम्वाद र छलफलबाट सीमा विवाद अन्त्य गर्नुपर्ने बताए । सुस्ता, कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई विवादित क्षेत्रको रुपमा भारतले पनि स्वीकारेको भन्दै उनले राष्ट्रियताका विषयमा दलहरुको एकता रहेको बताए ।
गत नोभेम्बरमा आफ्नो नक्सा जारी गर्दा भारतले काश्मीरलाई समेट्दा नेपालको भूमि समेटिएपछि नेपालमा विरोध भएको भन्दै उनले नक्सा जारी गर्दैमा सीमा विवाद अन्त्य नहुने भएकाले सम्वाद र छलफल गर्नुपर्ने बताए । अहिले पनि प्रचण्डले संसदमा सम्बोधन गरिरहेका छन् ।
सरकारले नयाँ नक्साअनुसार निशान छाप परिवर्तनका लागि नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ पेश गरेको थियो । सो विधेयक शनिबार पारित गर्ने तयारी गरिएको छ ।