
सरकारविरोधी प्रदर्शनमा सहभागी भएका ५ जना विदेशी पक्राउ परेका छन् । माइतीघरमा भइरहेको प्रदर्शनमा पुगेका ५ जना विदेशी नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार प्लेकार्ड बोकेरै प्रदर्शनमा उत्रिएका उनीहरुलाई माइतीघरमण्डलबाट नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा क्यानेडियन, चिनियाँ, अस्ट्रेलियन, अमेरिकन र फ्रेन्च नागरिक रहेका छन्।
ती विदेशी नागरिकहरुसँगै अन्य केही नेपालीलाई पनि प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ। नेपालको कानुनले विदेशी नागरिकलाई कुनै पनि राजनीतिक सभा, सम्मेलन र प्रदर्शनमा भाग लिन निषेध गरेको छ।
सरकारले आन्दोलन नगर्न र आन्दोलन गरेमा सङ्क्रामक रोग ऐन अनुसार कारबाही गर्ने चेतावनी दिए पनि युवाहरुले आन्दोलन जारी राखेका छन् ।
सरकारले कोरोना नियन्त्रणमा ध्यान नदिएको, भ्रष्टाचार मौलाएको लगायतका आरोप लगाउँदै केही दिनयता युवाहरुले देशव्यापी आन्दोलन गर्दै आएका छन् ।
आजै सुर्खेत, झापा, नवलपरासी, भक्तपुर लगायतका स्थानमा समेत प्रदर्शन भइरहेको छ । प्रदर्शनमा सहभागीहरुले कोरोनाको पीसीआर परीक्षण दायरा बढाउनुपर्ने, क्वारेन्टाइन र आइसोलेसन सुधार गर्नुपर्ने, विदेशमा रहेका नेपालीलाई सुरक्षितसाथ नेपालमा ल्याइनुपर्ने माग राखेका छन् ।
त्यस्तै स्वास्थ्य सामग्री खरिद अनियमितता छानबिन हुनुपर्ने, खर्च पारदर्शी बनाउनुपर्नेलगायत मागपनि उनीहरुका छन । युवाहरुले शुक्रबार काठमाडौं उपत्यकाका साथै बुटवल, भैरहवा, कपिलवस्तु, गोरखा, तनुहँ, उदयपुर, हेटौंडा, काभ्रे, पाल्पामा प्रदर्शन गरेका थिए ।