
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोना महामारीमा खर्चका बारेमा प्रश्न नगर्न आग्रह गरेका छन् ।
अहिले नै खर्च वढि भयो भनेर अविश्वास गर्ने अनि एकघर एक पिसिआर परीक्षण गर्नुपर्छ भन्ने माग आउनु विरोधाभाषपूर्ण भएको उनले बताएका छन् । एक घर एक पिसिआर परीक्षण गर्दा परीक्षणमा मात्रै न्युनतम् ५० देखि ६० अर्ब खर्च लाग्न सक्ने उनको भनाइ छ । अनि रातारात त्यत्रो खर्चको व्यवस्थापन गर्ने प्राविधिक जनशक्ति र सामर्थ्य हामीसंग छ र ? भन्ने प्रश्न उठाएका छन् । उनले असम्भव र अव्यवहारिक कुरा गर्नु नहुने औंल्याएका छन् ।
खर्चको विवरण सार्वजनिकको माग गर्दै देशभर आन्दोलन उठान हुन लागेको बेला मुख्यमन्त्री पोखरेलको यस्तो भनाई बाहिर आएको हो ।
उनले भनेका छन्, ‘यतिवेला सरकारले अझै ठुलो खरिद गरेर थप तयारी गर्नुपर्ने छ । अहिलेसम्म संघ, प्रदेश र स्थानीय तहले खर्चको व्यवस्थापन गरेका छन् । खर्च राज्यका स्थायी संरचनावाट हुने हो । वास्तविक खर्च त भुक्तानी भएसंगै सरकारी लेखामा देखिने नै छ । उपचार र परीक्षणमा संलग्नले पाउनुपर्ने जोखिम भत्ता सायद अहिले नै पाइसकेको अवस्था छैन । पछि त्यो जोडिदा अहिलेको खर्च बढ्न पनि सक्छ ।’