
इटहरी । सुनसरीमा खाटबाट लडेर एक बालिकाको मृत्यु भएको छ । सुनसरी कोशी गाँउपालिका–३ की १६ वर्षीया अञ्जिता उराँवको आफ्नै घरको खाटबाट लडेर मृत्यु भएको हो ।
आफ्नै घरमा खाटमा बसेर टेलिभिजन हेर्दै गरेको अवस्थामा अचानक लड्दा बेहोस बनेकी थिइन् । उनलाई उपचारको लागि लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
ट्रक दुर्घटनामा चालकको मृत्यु
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तीन नम्बर पुलबाट आज बिहान ट्रक खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नं १६ का ३२ वर्षीय विजय रुम्बा रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुर अस्पतालमा उपचारका क्रममा रुम्बाको मृत्यु भएको हो ।
मुग्लिनबाट भरतपुरतर्फ आउँदै गरेको ना८ख ५२०० नंको ट्रक अनियन्त्रित भई खोल्सामा खसेको हो । इच्छाकामना गाउँपालिका वडा नं ५ स्थित सो पुलबाट करिब ५० मिटर तल ट्रक खसेको थियो । ट्रकमा सिमेन्ट घोल्ने मिक्सचर जडान गरिएको छ । घटना बिहान ६ः३५ बजे भएको हो
जीवितलाई मृत्यु भएको भन्दै आन्दोलन
चितवन मेडिकल कलेजमा उपचाररत एक बिरामीका आफन्तले आफ्नो बिरामीको मृत्यु भएको भन्दै बिहीबार तोफोड गरेका छन् । उनीहरुले अस्पतालको सघन उचारकक्ष बाहिर तोडफोड गरेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार तोडफोड गर्ने तीन जनालाई पक्राउ गरी साँझ छाडिएको छ । उनीहरुले ढुङ्गा प्रहार गर्दा सघन उपचारकक्षको बाहिरको सिसा फुटेको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार भरतपुर महानगरपालिका–२२ पदमपोखरीका १७ वर्षीय युवक आशिष सुनारको एपेन्डीसाइडको शल्यक्रियापछि उपचार भइरहेको छ । कलेजका अध्यक्ष प्रा डा हरिशचन्द्र न्यौपानेका अनुसार ती युवकको जटिल प्रकृतिको एपेण्डिक्स भएको हो ।
हाल उनको सघन उपचारकक्षमा उपचार भइरहेको भन्दै बुझ्दै नबुझी मृत्यु भएको भनेर तोडफोडमा उत्रिएको उनले बताए । कोही कसैको लहैलहैमा हुने यस्ता समस्याले गर्दा अस्पतालमा कार्यरत चिकित्सकको मनोवल घट्ने उनको भनाइ छ । चिकित्सकले जानीजानी लापरवाही नगर्ने भन्दै उनले समस्या परे जो कोहीले कानूनको बाटो रोज्नुपर्ने बताए । यो कारोना सङ्क्रमणको समयमा ज्यान जोखिममा राखेर काम गर्ने चिकित्सकको मनोवल गिर्न नदिन पनि उनले आग्रह गरे ।