
नेपालमा चार दिनकाे शिशुलाई पनि काेराेना भाइरस देखिएकाे छ । बाजुराको बुढीगंगा नगरपालिकाका एक ४ दिनका शिशुलाई कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएकाे हाे ।
अस्पतालका अनुसार सुदूरपश्चिममा बिहिबार थपिएका २७ जना कोरोना संक्रमितमध्ये ४ दिनका शिशु पनि रहेका छन्।
सबै २७ जनाको धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा परीक्षण पश्चात कोरोना पुष्टि भएको हो।
यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या एक सय ९१ पुगेको छ।
नेपालमा पछिल्लो २४ घन्टामा २५० कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार विभिन्न जिल्लामा २५० कोरोना संक्रमित थपिएका हुन्।
योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ४६१४ पुगेको छ। तीमध्ये ८६१ जना डिस्चार्ज भएका छन् भने १५ जनाले ज्यान गुमाएका छन्।
सरकारले पछिल्लो समय पिसिआर प्रविधिबाट दैनिक झन्डै ४ हजार ५ सयका दरले परीक्षण गरिरहेको छ। अहिलेसम्म १ लाख १५ हजार ९ सय ३० जनाको पिसिआरबाट परीक्षण गरिएको छ।