
भारतमा कोरोना भाइरसका कारण एकैदिनमा करिब दश हजार जना संक्रमित भएका छन् ।
सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ९ हजार ९ सय ९६ जना संक्रमित भएको पुष्टि भएको हो ।
योसँगै भारतमा कुल संक्रमितको संख्या २ लाख ८७ हजार ६ सय ७९ पुगेको पनि स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा ३ सय ५७ जनाको मृत्यु भएको जनाएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या ८ हजार १ सय १५ पुगेको छ ।
भारतमा अहिले पनि १ लाख ३८ हजार ४ सय ४५ जना संक्रमितहरु विभिन्न अस्पतालमा उपरचार गराइरहेका छन् । जसमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
अहिलेसम्म सङ्क्रमण मुक्त भएकाहरुको संख्या १ लाख ४१ हजार २९ रहेको मन्त्रालयले जनाएको छ ।
कोरानाभाइरसको संक्रमण भारतमा सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा देखिदै आएको छ । महाराष्ट्रमा मात्रै बिहीबारसम्म ९४ हजार ४१ जना संक्रमित भएका छन् ।
दोस्रो स्थानमा तमिलनाडु प्रदेश रहेको छ । यहाँ ३६ हजार ८४१ जना सङ्क्रमित रहेका छन् । यसैगरी दिल्ली राज्यमा ३२ हजार ८१० जना संक्रमित रहेका छन् ।
विश्वभर हेर्ने हो भने भारतमा कोरोना भाइरस सङक्रमित संख्याको आधारमा छैटौं नम्बरमा रहेको छ । धेरै सङ्क्रमित भएतापनि निधन हुने व्यक्तिहरु संख्या अन्य मुलुकको भन्दा थोरै छ ।