
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागेको छ । बुधबार ८८ हजार ६ सयमा कारोबार भएको सुन बिहिबार (आज) एक हजारले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार ६ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन ८९ हजार १ सय ६५ रुपियाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ९ सय ५० पुगेको महासंघले जनाएको छ ।
‘सुनको भाउ अब तोलाको एक लाख पुग्छ’
सरकारले सुनको आयातमा लाग्दै आएको भन्सार एक वर्षको अवधिमा ३ पटक बढाएको छ ।
गत जेठ १५ गते अर्थात् आजभन्दा ठिक एक वर्षअघि चालु आर्थिक वर्षको बजेट भाषणमार्फत १० ग्राम सुन आयात गर्दा लाग्ने भन्सार शुल्क ४ हजार २ सयबाट बढाएर ५ हजार पुर्याइएको थियो । त्यसको ठिक एक महिनापछि आर्थिक वर्ष सुरु नै नभई ५ हजारबाट बढाएर भन्सार शुल्क ६ हजार ५ सय पुर्याएको सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट भाषणमार्फत फेरि भन्सार शुल्क बढाएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले जेठ १६ गतेबाटै लागू हुनेगरी १० ग्राम सुनको आयातमा यसअघि लाग्दै आएको भन्सार शुल्क ६ हजार ५ सयबाट बढाएर ८ हजार ५ सय पुर्याएका छन् । यसको असरका कारण सुनको भाउ आकाशिने नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष दियशरत्न शाक्य बताउँछन् ।
अहिलेकै अवस्था रहे अब केही दिनमै सुनको भाउ तोलाको एक लाख पुग्छ । उनले एक अनलाइनलाई सो कुरा बताएका हुन् ।
सर्वसाधारले भने सुन बेच्दा उचित मुल्य नपाइने गुनासो गर्दै आएका छन् ।
‘सुनको मूल्य बढ्यो भनेर के गर्नु,’ एक गृहणी भन्छिन् , बिक्री गर्ने दुब्लाउँदै जाने र किन्ने मोटाउँदै जाने गरेका छन् । उनी थप्छिन् : ‘सुन किन्दा सुनको भाउमा किन्नु पर्छ बिक्री गर्दा गुन्दुकको जस्तै भाउमा, न्युरोडमा सुन पसलको बिस्तार हेर्दा पनि सुनबाट कति नाफा हुन्छ भन्ने सहज रुपमा अनुमान लगाउन सकिन्छ।’
सुन बिक्री गर्दा कुल लागतको १५ प्रतिशतसम्म नोक्सानी हुने गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यको दाबी छ। ‘सुनका गहनाको प्रकृति हेरि बढीमा कुल लागतको १५ प्रतिशत नोक्सानी बिक्री गर्नेलाई हुन्छ,’ उनले भने, ‘सुन बनाउँदा लाग्ने ज्याला र जर्ती पूरै जान्छ त्यसका अलावा सुन रिफाइनिङ गर्दा लाग्ने लागत १ देखि २ प्रतिशत काटिन्छ।’