
सुर्खेतको बराहताल गाउँपालिका–४ स्थित भेरी माविको क्वारेन्टिनमा बसेका एक व्यक्तिलाई कोरोना संक्रमण देखिएको छ ।
गत सोमबार राति सर्पको टोकाईबाट बिरामी भएका उनलाई हिजो बिहान कर्णाली प्रदेश अस्पतालमा लगिएको थियो ।
तर, उनलाई अस्पताल पुर्याउने मान्छेहरुले उनी क्वारेन्टिनमा बसेका हुन् भन्ने सूचना दिएनन् ।
स्वास्थ्यकर्मीले सामान्य बिरामीलाई जसरी उपचार गरेपछि मात्रै उनी क्वारेन्टिनबाट ल्याइएका बिरामी भएको खुलेको हो ।
सोधपुछ गर्ने क्रममा सुरुमै उनी आरडीटी पोजिटिभ रहेको पाइएको र पछि पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए ।
सो घटनापछि अस्पतालमा त्रास छाएको छ ।
प्रदेश अस्पतालका निर्देशक डा. डम्मर खड्काले भने स्थानीय तहको गैरजिम्मेवारीपनले अस्पतालको इमर्जेन्सी वार्ड बन्द गर्नुपर्ने अवस्था आएको बताए ।
‘ती पुरुषको आरडीटी रिपोर्ट पनि पोजेटिभ रहेछ । क्वारेन्टिनको विरामी भन्ने समयमै जानकारी दिएको भए, त्यही अनुसार पीपीइ सहित उपचार गरिन्थ्यो,’ उनले भने, ‘स्थानीय तहको गैरजिम्मेवारीपनले इमर्जेन्सी वार्ड नै बन्द गर्नुपर्ने स्थिति आएको छ ।’
सबैवाट यस्तै व्यवहार भए अस्पतालले दिइरहेको सबै सेवाहरु बन्द हुने अवस्था आउने उनको भनाइ छ ।
उपचारमा खटिएका चिकित्सक, एम्बुलेन्स चालक र अन्य केही कर्मचारीको स्वाब संकलन गरेर पीसीआर परिक्षणका लागि पठाइसकिएको छ । उनीहरुलाई क्वारेन्टिनमा पठाउने तयारी पनि भरहेको निर्देशक डा. खड्काले जानकारी दिए ।