काठमाडौं । सरकारले कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि १० अर्ब रुपैयाँ सकिएको बताएको थियो ।
स्वास्थ्य तथा जनसंख्यमन्त्री भानुभक्त ढकालले कोरोनाभाइरस संक्रमण नियन्त्रणमा १० अर्ब रुपैयाँ सकिएको बताएका थिए ।
यसपछि मंगलबार बसेको संसद बैठकमा सांसद गगन थापाले यसको हिसाब मागेका थिए ।
यसको भोलिपल्ट बुधबार अहिले प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गरेका प्रधानमन्त्री ओलीले अहिले यस महामारीका बेला दैनिक लेखा परीक्षण नहुने गरेको जवाफ दिएका छन् ।
सबै हिताब किताब हुने र यससँग सम्बन्धित निकायले गर्ने भन्दै उनले अहिले कोरोना नियन्त्रणको चिन्ता रहेको बताए ।
पैसा अभाव रहेको भन्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार नै भयो भने सोच्न नहुने र यही यस संकटका बेला गर्ने अनियमितता सैह्य नहुने चेतावनी दिए ।
कोरोनाभाइरसको महामारी बेला भ्रष्टाचार गर्नेलाई सरकारले नछाड्ने बताउँदै उनले कोरोनाभाइरस नियन्त्रणका लागि स्थानीय तह, प्रादेशिक सरकार र संघीय सरकारले काम गरिरहेको र यही खर्च भइरहेको पनि बताए ।
ओलीले भने : हिसाब मात्र नखोजौं कोरोनाको चिन्ता गरौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सबैकाे भूमीका महत्वपूर्ण भएकाेले सबै मिलेर यसकाे निदान गर्नु पर्ने बताएका छन् ।
आज प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले सबैलाई काेराेना राेकथाममा भएकाे खर्चकाे मात्र चिन्ता नभई काेराेनाकाे पनि चिन्ता लिन अनुराेध गरे ।
‘कुनै पनि अनियमितता, अपारदर्शिता, भ्रष्टाचार जस्ता कुराहरू सरकारले सहँदैन, छानबिन गर्छ, कारबाही गर्छ, कठघरामा उभ्याइन्छ, दोषी पाइएमा दण्डित गरिन्छ, तर याे समय काेराेनाकाे जाेखिम नियन्त्रण गर्न तर्फ खर्च गर्नु पर्छ,’ उनले भने । ’
उनले भने, ‘सरकारका हरहिसाबको प्रतिवेदन राष्ट्रपति र संसद्मा आउँछ, आन्तरिक लेखा परीक्षण हुन्छ, अहिले हिसाबको चिन्ता नगरौं, कोरोनाको चिन्ता गरौं । कहींकतै अनियमितता भएकै हुँदैन भनेर दाबी गर्दैन तर भएकै छ भनेर पनि भन्दिनँ ।’
केही सांसदहरूले जे कुरामा पनि अनियमितता भएको आरोप लगाउने गरेको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि पनि पोखेका थिए । सांसदहरूले स्वास्थ्य सामग्री खरिदका क्रममा अनियमितता भएको र केही कर्मचारीलाई सरुवा गरेर त्यसबाट जोगिन खोजेको आरोप लगाएका थिए ।