
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सांसद गंगा चौधरीले छिमेकी मुलुक भारतले सुगौली सन्धीलाई लत्याउने कार्य गरे नेपालले ग्रेटर नेपालको नक्सालाई प्रकाशीत गरी कानुनी प्रकृया पुरा गर्नुपर्ने बताएकी छिन् ।
राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनता आफ्नो प्राण भन्दा प्यारो हुने बताउँदै सांसद चौधरीले नेपालको भुगोल रक्षाको निम्ती सुगौली सन्धी निलम्बन गरी ग्रेटर नेपालको नक्सा निकाल्न समेत पछि पर्नु नहुने तर्क प्रस्तुत गरिन् ।
प्रतिनिधिसभामा सरकारले निशान छाप सम्बन्धी संविधान संशोधन प्रस्तावको विषयमा आफ्नो राख्दै सांसद चौधरीले भुगोलमा नेपाल सानो छ भन्दैमा कति दिन दविएर वस्नुपर्ने ? भन्दै प्रश्न समेत गरिन् ।
उनले अबका दिनमा हेपिएर बस्न नसकिने समेत स्पष्ट पार्दै भनिन् मुलुक र भूमिसँगै कुनै पनि सम्झौता हुन सक्दैन सरकारले ल्याएको निशान छाप सम्बन्धी संविधान संशोधनमा तीन करोड नेपालीको साथ र समर्थन छ ।
नेपालको संघिय संसदमा नेपालको नभई भारतको चिन्ता गर्ने गरेको प्रति आक्रोस व्यक्त गर्दै उनले राष्ट्रिय अखण्डताप्रति कसैले औंला ठड्याउनु नहने बताइन् ।