
काठमाण्डौं उपत्यकाका अन्य दिनको तुलनामा मंगलबार सवारी साधनको चाप बढेको ट्राफिक कार्यालयले जनाएको छ । सडकमा सबारीसाधनको घुइचो देख्न सकिन्छ ।
आइतवारबाट केही सरकारी कार्यालय खोल्ने सरकारी निर्णयसंगै उद्योग र कलकारखाना समेत खुलेका कारण पनि सवारी चाप बढेको टफिक प्रहरीको भनाई छ ।
काठमाडौंको मुख्य सडकहरुमा गाडीको चाप बढेपछि ट्राफिक जाम पनि भएको छ ।
सवारी पास नलिएकाहरु पनि सडकमा देखिएपछि प्रहरीले त्यस्ता सवारी धनीलाई कारवाही समेत गरेको छ ।
मंगलबार ११ बजेसम्म २ हजार ७ सय सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । पास नलिएर हिँडेकाहरुलाई प्रहरीले होल्ड गरेको हो ।
लकडाउन उल्लंघन बढ्न थालेपछि मंगलबार ट्राफिक प्रहरीले चेकजाँचलाई समेत कडा पारेको जनाएको छ ।
सडकमा सवारी चाप बढेपछि प्रहरीले पनि सडकमा निगरानी बढाएको छ।
केही दिनयता सडकमा सुरक्षा जाँच न्युन मात्रामा हुने गरेको थियो। तर मंगलबार भने नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थिति सडकमा बाक्लो देखिएको छ।
बिहान मात्र न्यूरोडमा पसल खोल्ने बिषयलाई लिएर तनाब सृजना भएको थियो ।
प्रधानमन्त्री उच्चस्तरीय समन्वय समितिसँग असन्तुष्ट
काठमाडौंमा लकडाउन खुकुलो बनाइएकोमा प्रधानमन्त्री केपीशर्मा ओली सन्तुष्ट थिएनन् । उच्चस्तरीय समन्वय समितिले लकडाउन खुकुलो पार्ने गरी प्रस्ताव तयार पारेको भए पनि प्रधानमन्त्री ओली आश्वस्त हुन नसकेको श्रोतको दावी छ।
‘उच्चस्तरीय समन्वय समितिले जेठ २५ गतेदेखिनै लकडाउन खुकुलो बनाउने प्रस्ताव गरेको हो।
तर प्रधानमन्त्री अझै लकडाउन खुकुलो पार्न हुँदैन भन्नेमा हुनुहुन्छ’ उच्चस्तरीय समन्वय समिति स्रोतले भन्यो, ‘लकडाउन खुकुलो भएपछि जथाभावी मानिसहरुको भीड हुने होकि भनेर प्रधानमन्त्री चिन्तित हुनुहुन्छ। सायद अब सडकमा निगरानी अलि बढ्छ होला।’ यो भन्दा अगाडी पनि ओलीले लकडाउन कडा बनाउन निर्देशन दिएका थिए ।