
दबारमार्ग, महाबौद्ध, असन, न्यूरोड, भोटाहिटी र ठमेलका व्यापारीलाई घरधनीले लकडाउनकै बीचमा फोन गरेर घरभाडा मागेको थिए । पसल खुल्न थालेपछि व्यापारीले पसल खोल्नुभन्दा पहिले नै आएर घरधनीहरुले भाडा माग्न थालेका छन् ।
व्यापारीहरुले लकडाउन अवधिभर पसल बन्द गरेर बसेका थिए । लकडाउनमा पसल बन्द गरेको व्यापरीहरुलाई घरधनीले फोन गरेर घरभाडा माग्ने गरेको थिए । तर, लकडाउनका कारण हातमुख जोर्नै समस्या परेको भन्दै केही दिनयता व्यापारीहरुले पसल खोल्न थालेका छन् ।
अढाइ महिनादेखि व्यापार बन्द भएपछि आफूहरु भोकै हुने अवस्था आएको व्यापारीहरु बताउछन् । लकडाउनभर पनि व्यापारीहरु पसलको भाडा कसरी तिर्ने भन्ने चिन्तामा परिरहेका थिए । व्यापार खोल्नुको बिकल्प नभएको भन्दै व्यापारीहरुले विस्तारै पसलहरु खोल्न सुरु गरका हुन् ।
तर पसल खोल्न आउदा भाडा माग्न घरधनी आएकाले पसलेहरु पसल नै छाड्ने अवस्थामा पुगिसकेको बताउछन् ।
नेपाल व्यापार संघका उपाध्यक्ष तथा चाहाना भोटाहिटी व्यापार संघका आजिवन सदस्य हरि गौतमले पसल खोल्ने बितिकै घरधनी भाड माग्न आएको बताए । अढाइ महिनादेखि व्यापार बन्द छ, त्यसैले पसल खोल्ने बितिकै भाडा दिने अवस्था नभएको भनेर घरधनीलाई जानकारी दिएको गौतमले बताए ।
धेरै पसलेहरु पसल खोले पनि घरधनीले भाडा माग्ने, व्यापार नहुने, कोरोनाबाट कसरी बचेर व्यापार गर्ने भनेर चिन्तामा रहेको उनको भनाइ छ ।
‘पहिले घरभाडा तिर, अनि मात्रै पसल खोल भनेर घरधनीले भनिरहेका छन्, व्यापार भएर कमाएको पैसा पनि लकडाउनको समयमा बसेर खादा सकिएको छ, व्यापारीहरु नै भोकै हुने अवस्थामा आइसकेका छन्, यो बेला घरधनीलाई भाडा दिन सकिने अवस्था नै छैन्’, गौतमले भने ।
धेरै व्यापारीहरुलाई घरधनीहरुले पहिले भाडा तिर, अनि मात्रै पसल खोल भनेर भनेकोले अब के गर्ने भनेर आफूलाई फोन गर्ने गरेका उनले सुनाए । सबै घरधनीलाई सम्झाउन सकिने अवस्था नरहेको भन्दै उनले यस्तो बेलामा पनि संघीय सरकार, प्रदेश सरकार वा स्थानीय तहले समस्या समाधानको लागि कुनै पहल नगरेको गुनासो गरे ।
व्यापारीहरुले स्थानीय तहसगँ बसेर पनि आफूहरुका समस्याका बारेमा जानकारी गराएका थिए । तर खासै पहल नभएको उनको गुनासो छ ।
‘लामो समयदेखि व्यापारमा लागेका साथीहरुले अब यो क्षेत्रमा आफ्नो भविष्य देख्न छोडिसके, अब कहाँ जाने, के गर्ने भनेर चिन्ता थपिएको छ, बैंक ऋणको व्याज, सरकारलाई कर, कर्मचारीलाई तलब घरधनीलाई घरभाडाको नै सबै भन्दा ठूलो समस्या भएको छ,’ उनले थपे ।