
समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ ।
दल दर्ताका लागि पाएको समयको अन्तिम दिन आइतबार पार्टी पदाधिकारीबारे सहमति जुटेपछि नेताहरुले निर्वाचन आयोगमा पुगेर दल दर्ता गराएका हुन् । दर्ता गर्दा पार्टीको केन्द्रीय अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव छन् ।
सरकारले दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याएपछि दुई पार्टीबीच वैशाख १० गते मध्यरातमा पार्टी एकताको सहमति जुटेको थियो । तर नेतृत्वमा सहमति जुट्न नसक्दा जसपा निर्वाचन आयोगमा दर्ता हुन सकेको थिएन ।
दल दर्ता भएपछि जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले दुई अध्यक्ष र तीन जना वरिष्ठ नेताको नाम राखेर ५३ सदस्य कार्यकारी समितिको तर्फबाट दल दर्ता भएको जानकारी दिए ।
उनले जसपाको कार्यकारी अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहने सहमति भएको र वरिष्ठ नेतामा डा. बाबुराम भट्टराई, अशोक राई र राजेन्द्र महतोको नाउँमा सहमति जुटेको बताए ।
बाँकीको जिम्मेवारी दल दर्ताको प्रक्रिया पुरा भएपछि तोकिनेछ।
दल दर्ताका लागि शीर्ष नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, राजेन्द्र महतो लगायतका नेताहरु निर्वाचन आयोगको कार्यालय पुगेका थिए।
सरकारले दल फुटाउन सहज हुनेगरी अध्यादेश ल्याएपछि गत बैशाख १० गते समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण गर्ने सहमति भएको थियो।
बैशाख ११ गते दुवै पार्टीका नेताहरु आयोग पुगेर एकता बारे लिखित जानकारी गराएका थिए।
आयोगमा लिखित जानकारी गराएको ४५ दिन भित्रमा दल दर्ता गराउनुपर्ने प्रावधान अनुसार अन्तिम दिन आइतबार जसपाका नेताहरुले दल दर्ता गराएका हुन्।