
नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट खेलाडीको तलबमा १० हजार वृद्धि गर्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीसँग माग गरेको छ ।
शनिबार बसेको क्यानको बैठकले अहिले खेलाडीले पाउन बाँकी रहेको तलबमा हरेक ग्रेडमा १० हजार रुपैयाँ बढाउन आईसीसी समक्ष प्रस्ताव गरेको क्यान स्रोतले जनाएको छ ।
अहिले नेपाली खेलाडीहरुलाई तीन ग्रेडबाट बाँडेर आईसीसीले नै तलब पठाइरहेको छ । क्यान निलम्बन भएको बेला आईसीसीले तलब दिने गरेको थियो ।
क्यानले सेन्ट्रल कन्ट्रयाकको नयाँ लिस्ट सार्वजनिक गर्नुअघि तलब बढाउन प्रस्ताव गरिएको हो । क्यान स्रोतले भन्यो- ‘हामीले खेलाडीको तलब १० हजार बढाएर पठाउन आईसीसी समक्ष प्रस्ताव गरेका छौँ ।’
अहिले ग्रेड ‘ए’ मा रहेका खेलाडीले ३५ हजार ग्रेड ‘बी’ मा रहेका खेलाडीले २५ हजार र ग्रेड ‘सी’ मा रहेका खेलाडीले १५ हजारका दरले तलब पाउनेछन् ।
क्यानले नयाँ सेन्ट्रल कन्ट्रयाकको लागि पनि अन्तिम तयारी गरिरहेको स्रोतले जनाएको छ । पुरुषतर्फ २४ र महिलातर्फ १८ खेलाडीको सेन्ट्रल कन्ट्रयाक गरिने यसअघि नै क्यानले निणर्य गरिसकेको छ । महिला क्रिकेटरको पहिलो पटक सेन्ट्रल कन्ट्रयाक हुन लागेको हो ।
यस्तै खेलाडीको प्रशिक्षण गर्नका लागि सरकारको निणर्य पर्खिरहेको क्यानले जनाएको छ । यसैगरी विदेशी प्रशिक्षक नियुक्तका लागि केही प्रशिक्षकसँग कुरा भएको र अन्तिम निणर्य हुन बाँकी रहेको स्रोतले जनाएको छ । मौखिक कुराकानी भइरहेको छ ।