
यो तस्वीर भारतको राजधानी नयाँ दिल्लीको हो। एनएनजेपी अस्पताल अगाडि सडकमा एक व्यक्ति आफन्तको मृत्युको खबर सुनेर व्यहोस भएर सडकमा ढले।
दिल्लीमा शनिवारमात्रै संक्रमणबाट ५३ जनाको मृत्यु भएको थियो। भारतको कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार ६२२ पुगेको छ। पछिल्लो २४ घण्टामा भारतका विभिन्न राज्यमा कोरोना संक्रमितको संख्या १० हजार ५२१ जना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा २ सय ९७ जनाको मृत्यु भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्। भारतको कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ९ सय ४६ पुगेको छ। राजस्थानपछि उत्तर प्रदेशमा कोरोना संक्रमितको संख्या दश हजार भन्दा धेरै पुगेको छ। योसँगै उत्तर प्रदेश दश हजार बढी कोरोना संक्रमित हुने भारतको छौटौं राज्य बनेको छ। अहिलेसम्म उत्तर प्रदेशमा २ सय ६८ जनाको मृत्यु भइसकेको छ।
उत्तर प्रदेशमा शनिबार मात्रै ३७० नयाँ संक्रमित थपिएका छन् भने शनिबार ११ जनाको मृत्यु भएको छ। उता मध्य प्रदेशमा शनिबार २३२ जना नयाँ संक्रमित थपिएका छन् भने १५ जनाको मृत्यु भएको छ। भोपालमा ५१ जना थप नयाँ संक्रमित थपिएका छन्। उता इन्दौरमा ३५, शाजापुरमा २०, नीमचमा १८, बुरहानपुरमा १५सहित मध्य प्रदेशमा कुल ९ हजार २ सय २८ कोरोना संक्रमित पुगेका छन्।
भारतमा आइतबार बेलुका साढे ६ बजेसम्मको तथ्यांकअनुसार २ लाख ४८ हजार २ सय २१ जना संङक्रमित भएका छन् भने ६ हजार ९ सय ५७ जनाले ज्यान गुमाइसकेका छन् । अहिलेसम्म १ लाख १९ हजार ३ सय ९६ जना निको भएर घर फर्केका छन् भने १ लाख २१ हजार ८ सय ६८ जना भारतका विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् तीमध्ये ८ हजार ९ सय ४४ को अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
सबैभन्दा धेरै संक्रमित हुनेमा भारत छैटौं नम्बरमा रहेको छ । अमेरिकामा १९ लाख ८८ हजार भन्दा बढी, ब्राजिलमा ७ लाख ७६ हजार भन्दा बढी, रसियामा ४ लाख ६७ हजार भन्दा बढी, स्पेनमा २ लाख ८८ हजार भन्दा बढी र बेलायतमा २ लाख ८४ हजार भन्दा बढी सङक्रमित फेला परेका छन् ।