
नयाँ संक्रमित नभेटिएपछि सामान्य बन्दै गएको उदयपुरमा फेरी त्रास सुरु भएको छ । आइतबार जिल्लाको पूर्वी क्षेत्र बेलका नगरपालिकामा ३४ र ३५ वर्षीय दुईजना र चौदण्डीगढी नगरपालिका ३२ वर्षीय एकजना गरी तीनजनामा एकैसाथ संक्रमण देखिएपछि त्रास सुरु भएको हो ।
यो सँगै जिल्लामा संक्रमितको संख्या ३६ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहनप्रसाद सुबेदीकाअनुसार उनीहरुको ५ दिनअघि स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको थियो । ३ सय ८५ जनाको स्वाब संकलन गरी लगिएकोमा ३ जनामा पोजिटिभ देखिएको र अन्यको परीक्षण भइरहेको उनले बताए ।
सुबेदीका अनुसार बेलका, चौदण्डी, त्रियुगा, कटारी नगरपालिका र लिम्चुङ्गबुङ्ग गाउँपालिका गरी ५ वटा स्थानीय तहमा स्वाब संकलन गरी काठमाडौं पठाइएको थियो । नयाँ संक्रमित तीनैजना छिमेकी मुलुक भारतबाट आएका हुन् । उनीहरुलाई सम्बन्धित नगरपालिकाले नेपाल प्रवेश गरे लगत्तै सिधै क्वारेन्टाइनमा ल्याएर राखेको थियो ।
बेलकामा देखापरेका श्रीमान श्रीमती हुन् । उनीहरुलाई एम्बुलेन्समार्फत धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने तयारी भइरहेको उनले बताए । २३ दिनअघि एकजना पत्रकारमा संक्रमण देखिएपछि सामान्यतर्फ उन्मुखहुँदै गरेको उदयपुरमा नयाँ संक्रमणले फेरी त्रास सुरु भएको स्थानीयको भनाइ छ । नयाँ संक्रमित नदेखिएपछि स्थानीय प्रशासनले जिल्लाका सबै ठाउँका बजार बिहान ६ बजेदेखि ११ बजेसम्म खुल्ला राखी जनजीवन सामान्य बनाउँदै आएको थियो ।