
कुनै पनि कलाकारलाई बलिउडमा कदम राख्न नै निकै कसरत गर्नु पर्छ । जसो त्यसो बलिउडमा डेव्यु गरेता पनि सफलता पाउन फलामको चिउरा चपाउनु जस्तै मान्ने गरिन्छ ।
बलिउडमा पनि बेलाबेला परिवारवादको नारा पनि चर्को रूपमा लाग्ने गर्छ । तर पनि बलिउडका सफल कलाकारका छोरा छोरीले पनि सफलता पाउन निकै मेहनत गर्नुपर्ने देखिन्छ । आज हामी एउटै हिट सिनेमाले बलिउडमा थुप्रै कलाकारका करियर परिवर्तनको बारेमा चर्चा गर्नेछौँ ।
जसलाई एउटै सिनेमा उनीहरूलाई रातारात स्टार कलाकारको रूपमा उभ्याएको छ । भने कतिपय कलाकारको खस्किँदो करियरलाई उचाइमा पुर्याएको छ । आज हामी ती सिनेमाको गर्नेछौँ, जसले बलिउडमा तारिफसँगै कलाकारको करियरलाई नयाँ उचाइ दिए ।
उरी: द सर्जिकल स्ट्राइक :-
बलिउड अभिनेता विक्की कौशललाई रातारात स्टार बनाउने श्रेय जान्छ उरी द सर्जिकल स्ट्राइकलाई । यो भन्दा पहिले उनले सञ्जु, राजी लगायतका सिनेमामा काम गरिसकेका थिए ।
तर, करिब २५ करोडको बजेटमा निर्माण भएको सिनेमा उरी उनको करियरको टर्निङ प्वाइन्ट बन्यो । सिनेमाले समीक्षकको उत्कृष्ट प्रतिक्रियासँगै बक्स अफिसमा पनि उछाल ल्याएको थियो ।
उरीले बक्स अफिसमा २४५ करोड भन्दा माथिको व्यापार गरेको छ । यो सिनेमाबाट विक्कीले नेश्नल अवार्ड समेत हात पारेका थिए ।
कबीर सिंह :-
‘इश्क विश्क’बाट बलिउडमा डेव्यु गरेका अभिनेता हुन् शहिद कपुर । उनलाई बलिउडमा शानदार अभिनय गर्न सक्ने अभिनेताको उपनामले चिन्ने गरिन्छ । हरेक सिनेमामा उनले गरेको अभिनयले तारिफ पाउँछ । तर, बक्स अफिसमा जहिल्यै शून्य हात लाग्यो ।
शहिद अभिनीत सिनेमा ‘विवाह’ पश्चात् उनले सफलताको स्वाद चाख्न पाएका थिएनन् । यो वर्ष रिलिज सिनेमा ‘कबीर सिंह’ भने उनको करियरकै टर्निङ प्वाइन्ट बनेको छ । सानो बजेटमा बनेको सिनेमाले बक्स अफिसमा २८५ करोडको व्यापार गरेको छ ।
अंधाधुन :-
बलिउड अभिनेता आयुष्मान खुरानालाई पछिल्लो समय बक्सअफिस किंगको उपनामले चिन्न थालिएको छ । उनले अभिनय गरेका हरेक सिनेमाले बक्स अफिसमा उछाल ल्याएका छन् । तर पनि आयुष्मानलाई बलिउडमा भर्सटाइल अभिनेताको रूपमा चिनाउने सिनेमाको रूपमा ‘अंधाधुन’लाई लिने गरिन्छ ।
यो सिनेमाले भारतसँगै विश्वका थुप्रै देशमा रेकर्ड ब्रेक व्यापार गरेको छ । ‘बधाई हो’, ‘अंधाधुन’ लगायतका सिनेमाले आयुष्मानलाई नेश्नल अवार्ड समेत दिलाएका थिए ।
कहो ना प्यार है :-
अभिनेता ऋतिक रोशनको लागी वर्ष २०१९ उत्कृष्ट साबित भएको छ । उनले अभिनय गरेका दुई सिनेमा ‘सुपर ३०’ र ‘वार’ले बक्स अफिसमा धमकेदार व्यापार गरेका थिए ।
तर ऋतिकका लागी करियरको टर्निङ प्वाइन्टको रूपमा ‘कहो ना प्यार है’लाई लिने गरिन्छ । यो उनको डेव्यु सिनेमा हो । पहिलो सिनेमाबाटै ऋतिक फ्यानको धड्कनमा बस्न सफल भएका थिए ।
सञ्जु :-
सञ्जय लीला भंसालीको निर्देशनमा निर्माण भएको सिनेमा ‘सावरिया’बाट बलिउडमा डेव्यु गरेका रणवीर कपुरलाई पछिल्लो रिलिज सिनेमा ‘सञ्जु’ले भर्सटाइल अभिनेताको रूपमा स्थापित गरेको हो । उनले पहिले नै बर्फि, ये जवानी हे दिवानी, रकस्टार, ‘ए दिल है मुस्किल’लगायतका सुपर हिट सिनेमामा काम गरिसकेका थिए ।
तर, पछिल्लो समय उनको खस्किँदो करियरलाई पुन उचाइमा पुर्याउने काम भने राजकुमार हिरानीको सिनेमा ‘सञ्जु’ले गरेको थियो । यो सिनेमा पश्चात् रणवीरको हातमा थुप्रै बिग बजेट सिनेमा परेका छन् ।