
चीनमा कोरोनाभाइरसको संक्रमणको खुलासा गर्ने डाक्टरहरुको टिमका सदस्य डा. हु विफेंगको पनि मृत्यु भएको छ ।
उनी कोरोनाभाइरसबाट मृत्यु हुने यो टिमका छैटौं सदस्य हुन् ।
हु विफेंग चीनमा कोरोनाभाइरसबारे सबैभन्दा पहिले चेतावनी दिने डाक्टर लि वेनलियांगको टिमका सदस्य थिए ।
समाचारअनुसार डा. हु विगत ४ महिनादेखि कोरोनाभाइरससँग जुधिरहेका थिए ।
यद्यपि हालै उनको हालत ठिक भएको र उनलाई भेन्टिलेटरबाट हटाइएको समाचार आएको थियो ।
डाक्६रको मृत्युपछि चीनमा प्रशासनप्रति आक्रोश बढेको छ ।
नागरिकहरु लगातार प्रशासनको आलोचना गरिरहेका छन् ।
डा. विफेंग जनवरीमा कोरोनाभाइरस संक्रमित पाइएका थिए ।
उनी यसबाट मृत्यु हुने अस्पतालका छैटौं व्यक्ति हुन् ।
चीनका नागरिकहरु डा. विफेंगले कोरोनाभाइरस विरुद्ध सुरु गरेको युद्धका कारण उनलाई हिरोजस्तै हेर्ने गर्थे ।
उनको मृत्युको बारेमा धेरै जानकारी दिइएको छैन ।
तर, सामाजिक संजालमा चीनको कोरोनाभाइरससँग लड्ने प्रयासलाई लिएर आलोचना भइरहेको छ ।
डा. हु विफेंग चीनको वुहान सेन्ट्रल अस्पतालमा युरोलोजिस्ट थिए ।
उनी डा. लि वेनलियांगको त्यो टिमका हिस्सा थिए जसले कोरोनाभाइरसको जानकारी विश्वलाई दिएका थिए ।
वुहान कोरोनाभाइरसको इपिसेन्टर थियो र त्यहीँ डा. लि र डा. हू काम गर्थे ।
कोरोनाको बारेमा चेतावनी दिएपछि चीन सरकारले डा. वेनलियांगलाई चेतावनी दिँदै आफ्नो मुख बन्द राख्न भनेको थियो तर पछि उनले अस्पतालबाटै एक भिडियोमार्फत आफ्नो कुरा बाहिर राखेका थिए ।
उपचारको क्रममा डा. हु विफेंग र उनका सहकर्मी कार्डियोलोजिस्ट यी फेनको कलेजोले काम गर्न बन्द गरेको थियो र उनीहरुको अनुहार कालो भएको थियो ।