
भारतको गृह मन्त्रालयले २ हजार ५ सय ५० जना विदेशी तब्लिगी जमातका सदस्यलाई कालोसूचीमा राखेको छ ।
कोरोनाभाइरसको जोखिम न्यूनिकरण गर्न अपनाइएको लकडाउनलाई उल्लंघन गरी सङ्क्रमण फैल्न सघाएको आरोपमा उनीहरुलाई कालोसूचीमा राखिएको हो ।
पीटीआईले गृह मन्त्रालय स्रोतलाई उद्धृत गर्दै कालोसूचीमा राखिएका २ हजार ५ सय ५० जना विदेशी नागरिकलाई १० वर्षका लागि भारत प्रवेशमा प्रतिबन्ध लगाएको उल्लेख गरेको छ ।
गत मार्च महिनामा राजधानी नयाँ दिल्लीको निजामुद्दीनस्थित तब्लिगी जमातको भेलाले कोरोना सङ्क्रमण बढाएको भारतले दाबी गरिएको थियो ।
भारतको अधिकांश स्थलका सहभागी रहेका अनुयायीहरु घर फर्किदा कोरोनाभाइरसको सङ्क्रमण देशब्यापी फैलिन सघाएको भारतीय अधिकारीहरुको दाबी छ ।
विदेशी नागरिक भिसा अवधि समाप्त भएपनि गैरकानूनी रुपमा मस्जिद र धार्मिक स्थलमा आश्रय लिएर बसेको पाइएपछि विदेशी जमातीमाथि प्रतिबन्ध लगाउने निर्णय लिइएको हो । सङ्क्रामक रोग ऐन विपरित कार्य गरेको तथा भिसाको मापदण्ड उल्लंघन गरेको आरोपमा मर्कजका विदेशी सहभागीहरु बिस्तृत छानबीन र अनुसन्धान गरिदैछ ।