
अभिनेत्री मनीषा कोइराला राजधानीको एक होटलमा १४ दिने क्वारेन्टिनमा बसेकी छिन् ।
‘मनीषा कोइराला आमा र बुबासहित राजधानीको एक होटलमा मंगलबारदेखि क्वारेन्टिनमा बसिरहनु भएको छ,’ अभिनेत्री कोइराला निकट स्रोतले भने, ‘होटलमा १४ दिने क्वारेन्टिन अवधि पूरा गरेर उहाँहरू घर जानु हुनेछ ।’
उनी स्थलमार्गबाट भैरहवा (बेलहिया) नाका हुदै स्वदेश आएकी हुन् ।
लम्पियाधुरासहितको नेपालले नक्सा सार्वजनिक गरेपछि उनले दिएको प्रतिक्रियालाई लिएर भारतीय संचारमाध्यमले उनलाई विवादमा तानका थिए ।
मंगलबार बेलहिया नाकाबाट अभिनेत्री मनिषा कोइराला स्वदेश फर्किएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए ।
उनी आफ्नो बुबा र आमासँगै निजी गाडीमा स्वदेश आएकी हुन् ।
मनिषको पछिल्लो अभिव्यक्तिलाई लिएर अन्य कतिपय भारतीय च्यानल व्यक्तिगत दोषारोपणमा उत्रिएका थिए।
उनीहरुले मनिषाले त्रीपक्षीय वार्ता गर्नुपर्ने विषय उठाएकोमा पनि आपत्ति जनाएका थिए ।
मनिषाले प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै ट्वीटरमा लेखेकी थिइन्, ‘हाम्रो सानो राष्ट्रको मर्यादा राख्नुभएकोमा तपाईँलाई धन्यवाद ।
अब तीन महान राष्ट्रहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवाद भएकको हेर्न हामी सबै इच्छुक छौँ ।’
मनिषाले नेपाल सरकारले हालै परिस्कृत नक्सा जारी गरेकोमा खुसी व्यक्त गर्दै यस्तो प्रस्ताव गरेकी थिइन् ।
सरकारले नयाँ नक्सा पास गरेको भोलिपल्टै मनिषाले यस्तो जनाएकी थिइन्।
सरकारले जेठ ५ गते नेपालको नयाँ नक्सा ल्याउने निर्णय गरेको थियो।