कोरोनाले नछोएको मुगु जिल्लाका एक जनामा कारोना सङ्क्रमण पुष्टि भएको छ ।
जिल्लाको खत्याड गाउँपालिका–२ घर भएका २७ वर्षीय युवकको आज बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको ल्याबमा स्वाब पिसीआर परीक्षण गर्दा पोजेटिप रिपोर्ट आएको जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका प्रमुख निर्मल नगरकोटीले बताए ।
सङ्क्रमित युवा खत्याड गाँउपालिकाले स्थापना गरेको हलेखाड क्वारेन्टिनमा बस्दै आएका थिए । कोरोना सङ्क्रमित युवालाई बिहीबारै रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको आइसोलेशनमा वार्डमा राखिएको छ भने निजको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
जिल्लाका रहेका चार स्थानीय तहमध्ये सबैभन्दा बढी भारतबाट सोही गाउँपालिकाका स्थानीयवासी भित्रिएपछि सरोकारवालाले यो गाउँपालिका कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा रहेको बताउँदै आएका थिए । सङ्क्रमित रहेको क्वारेन्टिनमा रहेका अन्य ४७ जनाको एक हप्तापछि आरडिटी गरेर मात्र घर पठाउने डा नगरकोटीले जानकारी दिए ।
सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले आज दिँउसो २ बजेर ५० मिनेटमा जारी गरेको विज्ञप्ती अनुसार नयाँ १ सय चौधजनामा कोरोना पुष्टि भएको छ । जसमध्ये मुगु जिल्लाका १ जना २७ वर्षिय पुरुष हुन् भने बाँकी रहेका ११३ जना नै दैलेख जिल्लाका हुन् ।
योसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या ३ सय ८९ पुगेको छ ।