
नयाँदिल्ली, २२ जेठ । भारतमा निसर्ग नामको आँधीबाट पुने जिल्लामा दुई जनाको ज्यान गएको छ । अरु तीन जना घाइते भएका बताइएको छ ।
आँधीको खतरा देखिएको भन्दै यहाँका कैयौं गाउँ खाली गराइएको थियो । बुधबार राति आँधी आउने भविष्यवाणी गरिए लगत्तै ती गाउँहरु खाली गराएका त्यहाँका नागरिकलाई अन्यत्रै सारिएको थियो ।
भारतको मुम्बई र सो आसपासका क्षेत्रमा निसर्ग नामको आँधी आउने अनुमान गरिएको हो । हिजो राति आएको सो आँधीमा परी पुने जिल्लामा दुई जनाको ज्यान गएको र अरु तीन जना घाइते भएका समाचारमा जनाइएको छ ।
पुनेमा करिब एक सय घरमा क्षति पुगेको छ । कतिपय घर भत्किएका छन् भने केहीमा आंशिक क्षति पुगेको बताइएको छ । महाराष्ट्रको तटीय क्षेत्रमा आाधी आउने भन्दै बुधबार नै उद्धार कार्य गरिएको बताइएको थियो । भारतको मौसम विभागले एक सय २० किलोमिटर प्रतिघण्टाको गतिमा आँधी आउने अनुमान गरेको थियो ।
बुधबार रातिदेखि नै आँधी सम्भावित प्रभावित क्षेत्रमा सडक तथा रेल यातायात बन्द गरिएको थियो । बढी प्रभाव पार्ने अनुमान गरिएका गुजरातका ४७ वटा गाउँ पनि खाली गराएर त्यहाँका हजारौं मानिसलाई अन्यत्रै सारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
हिजोको सो सतर्कताका कारण ठूलो क्षति हुन नपाएको पनि अधिकारीहरुले जनाएका छन् । मृत्यु भएका दुई जनामा एकलाई उडिरहेको जस्ता पाताले लागेर र अर्का एकजनाको घर भत्किएर ज्यान गएको बताइएको छ ।
प्राय महाराष्ट्रका धेरै क्षेत्रमा क्षतिको अनुमान गरिएकोमा आँधी कमजोर आएको आज बताइएको छ । सतर्कता अपनाउनुका साथै आँधी कमजोर रहेकोले धेरै क्षति नभएको मौसमविद्हरुले बताएका छन् ।
‘निसर्ग’ चक्रवातको प्रभाव नेपालमा ‘अम्पुन’ को भन्दा बढी पर्ने
‘निसर्ग’ चक्रवातको प्रभावले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना देखिएको छ ।
अरब सागरको दक्षिणपूर्वी भूभागमा बुधबारदेखि विकसित भएको ‘निसर्ग’ चक्रवातको अप्रत्यक्ष प्रभाव नेपालमा पनि पर्ने मौसमविद् शान्ति कँडेलले बताइन् । उक्त चक्रवातको असर नेपालमा शुक्रबार र शनिबार बढी पर्ने बताइएको छ ।
‘नेपालको अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा गराउनुको साथै उच्च पहाडी तथा हिमाली भूभागमा यसले हिमपात गराउने सम्भावना छ’, मौसमविद् कँडेलले भनिन् ।
भारतमा बुधबारदेखि प्रवेश गरेको निसर्ग चक्रवातको प्रभाव अमपुनको तुलनामा नेपालमा बढी देखिने मौसमविद्को अनुमान छ । निसर्ग चक्रवात हाल भारतको अलिवाग नजिकै मुम्बइबाट ७५ किमी र पुणेबाट ६५ किमी टाढा रहेको छ ।
त्यसपछि यो चक्रवात क्रमशः कमजोर बन्दै उत्तरपूर्वी दिशातर्फ मोडिने सम्भावना रहेको छ । यस चक्रवातको अप्रत्यक्ष प्रभाव नेपालमा परिसकेको छ । देशको खासगरी मध्य र पूर्वी क्षेत्रका अधिकांश स्थानमा बदली रही केही ठाउँमा हल्लका वा मध्यम वर्षा भएको छ ।
दिउँसो सुदूरपश्चिम प्रदेश कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश नं ५ मा पूर्ण बदली रही केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शुक्रबार सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ ।
शनिबार प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेशका केही र अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको औंल्याएको छ ।