
कञ्चनपुर, २१ जेठ । कञ्चनपुरको महाकाली नगरपालिका ८ सुन्दरनगरमा भारतीय एसएसबीले नेपाली नागरिक र भूमिमाथि ज्यादति गरेका छन् ।
कञ्चनपुरको महाकाली नगरपालिका- ८ सुन्दरनगरका स्थानीय किसान लक्ष्मण पुन (मगर) बर्खे खेतीका लागि गतसाता खेततिर हिँडे । सीमा क्षेत्रमा लक्ष्मणको खेत छ । रोपाइँको तयारीका लागि ट्याक्टर लगेर खेत खोत्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को फौज आएर खनजोत रोकिदिए ।
‘म खेत जोत्दै थिएँ । एक चरण के जोतेको थिएँ, उताबाट एसएसबीको टीम आएर रोकिदिए,’ उनले भने, ‘एसएसबीले विवादित भूमि भन्दै खेतबाट ट्याक्टर हटाउन दबाव दिए ।’
एसएसबीले रोकेपछि ट्याक्टर लिएर आफू निरीह फर्किएको उनको भनाइ छ । सीमा पिलर १७ नजिक लक्ष्मणको अढाई कट्ठा जमिनमा एसएसबीले खेतपाती एवं खनजोत गर्न दिएका छैनन् ।
यसअघि गत वर्ष उक्त खेतमा लगाएको मसुरो भारतीय नागरिकले ट्याक्टर चलाएर बाली नष्ट गरिदिएको थियो । तीन वर्ष अघि पनि भारतीय एसएसबीले लक्ष्मणलाई खनजोतमा अवरोध गरेको थियो ।
‘हामी यहाँ विस २०२४ सालदेखि बसेका हौँ,’ उनले भने, ‘बाबु सेना थिए, उनलाई सरकारबाट डेढ विगाह जमिन मिलेको थियो । अहिले अनावश्यक रुपमा भारतीय पक्षबाट अवरोध भइरहेको छ ।’
जनखोत अवरोध गरेका एसएसबीले माथिको विषय भन्दै रोकेको लक्ष्मणले बताए । बोर्डर आउट पोष्ट(बीओपी) दोधाराले भारतीय पक्षबाट नेपालीको खेतमा अवरोध गरेकाे बारे माथिल्लो निकायलाई जानकारी गराइसकेको जनाएको छ ।