
काठमाडौं, २१ जेठ । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपाल–भारतबीच चुलिएको पछिल्लो सीमा विवाद वार्ताबाटै हल गर्न सकिने बताएका छन् ।
मंगलबार भारतीय टेलिभिजन च्यानल सीएनएन न्युज १८ लाई एक अन्तर्वार्ता दिँदै रक्षामन्त्री सिंहले भनेका छन, ‘नेपालसँगको सम्बन्ध सधैं दाजुभाइको जस्तो रहिआएको छ । कहिलेकाहीँ दाजुभाइमा मतभेद देखिनु स्वाभाविक हो । यो मतभेद वार्ताबाटै हल गर्न सक्छौँ ।’
पछिल्लो समय नेपालले लिम्पियाधुरा समेटिएको नयाँ नक्सा ल्याएसँगै भारतमा यसबारे बहस र चर्चा चुलिएको छ । केही समयअघि (गत वैशाख २६ गते) रक्षामन्त्री सिंहले नै लिपुलेकसम्म नेपाली भूमिमा बनाएको सडक उद्घाटन गरेका थिए ।
उनले उक्त अन्तर्वार्तामा भनेका छन्, ‘कुनै पनि समस्या सँगै बसेपछि नसुल्झिने भन्ने छैन । हामी सीमा विवाद पनि वार्ताबाटै हल गर्नेछौं ।’ नेपालसँग वार्ताबाटै पछिल्लो विवादको हल गर्न सकिने उनले त्यसअघि भारतकै अर्को टेलिभिजन आजतक सँगगको कुराकानीमा पनि बताएका थिए ।
अन्तर्वार्तामा सोधिएको— नेपालले चीनको इसारामा नयाँ नक्सा सार्वजनिक गरेको हो कि भन्ने ? भन्ने प्रश्नको जवाफमा मन्त्री सिंहले कुटिल अभिव्यक्ति दिए । उनले नेपाललाई कुनै आरोप लगाउने पक्षमा आफू नभएको बताउँदे भनेका छन्, ‘म कुनै आरोप–प्रत्यारोपमा जान्नँ । नेपालसँगको सम्बन्धलाई हामी कुनै पनि हालतमा बिगार्न चाहन्नौं ।’
विगतमा (गत सालको नोभेम्बरमा) भारतले नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक, कालापानी सहित समेटेर आफ्नो नयाँ नक्सा सार्वजनिक गरेको थियो । त्यसवेला नेपालभित्र चर्को विरोध भयो र नेपाल सरकारले पनि भारतसमक्ष औपचारिक रूपमै विरोध जनाएको थियो । तर वार्ताबाट उक्त समस्या हल गर्न नेपालले पटकपटक अनुरोध गर्दा पनि भारतले आनाकानी गर्दै आएको थियो ।