
सरकारले सबै भन्दा लामो लकडाउन लगायो भन्दै यतिबेला काठमाण्डौका व्यावसायीहरु आक्रोशित बनिरहेका छन् । जेठ ३२ गतेसम्म थपिएको लकडाउनको मोडालिटी पनि अहिलेसम्म तय नगरेको भन्दै आक्रोशित व्यावसायीहरुले राजधानीको दरबारमार्ग क्षेत्रका व्यवसाय आजबाट सुरु गर्ने भएका छन् ।
दरबारमार्ग क्षेत्रका व्यवसाय शुरु गर्नकोलागी दरबारमार्ग डेभलपमेन्ट बोर्डले मंगलबार अनौपचारिक छलफल गरेको थियो । सोही छलफलकै आधारमा बोर्डले बुधबारदेखि दरबारमार्ग क्षेत्रको व्यावसाय संचालन गर्ने निर्णय गरेको हो । छलफलमा सहभागी एक व्यवसायीका अनुसार बुधबार सबै पसल र व्यवसाय खोलेर सरसफाई गर्ने निर्णय भएको छ । बुधबार थप व्यवसायी र कर्मचारीसँग छलफल गरेर आधिकारिक धारणा बनाउने निर्णय समेत भएको जनाइएको छ ।
लकडाउनका कारण व्यापार व्यावसायहरु सबै थप्प भएको हुनाले आम्दानी हुन नसकेको अवस्थामा सरकारले व्यवसायीलाइ कर तिर्न तोकता गरिरहेको छ । यस्तो अवस्थामा व्यापसायीको हितमा कुनै पनि प्याकेज सरकारले नल्याएको र व्यापार व्यवसाय गर्न नदिएको भन्दै उनीहरु यतिबेला आक्रोशित भईरहेका छन् ।
त्यस्तै पोखराका व्यावसायीले बन्दाबन्दी खुकुलो बनाउँदै सबै प्रकारका व्यापार÷व्यवसाय खुलाउन माग गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकी प्रदेश, पोखरा उद्योग वाणिज्य संघ तथा लेखनाथ उद्योग वाणिज्य संघले गण्डकीको मुख्यमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउँदै बन्दाबन्दीले व्यवसायीलाई मर्का परेकाले सहज वातावरणको लागि आग्रह गरेको हो ।
ज्ञापनपत्रमा सुरक्षाको पूर्ण व्यवस्था गर्दै समय तालिका मिलाएर व्यापार÷व्यवसाय सञ्चालन गर्न दिनका लागि माग गरिएको छ । उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष सञ्जीवबहादुर कोइराला, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी तथा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा व्यवसायको प्रकृति हेरेर समय तालिकानुसार व्यवसाय खुलेमा त्यसले अर्थतन्त्रलाई गति दिने उल्लेख गरिएको छ ।
परिस्थितिको विषमतालाई ध्यानमा राख्दै प्रदेश र स्थानीय सरकारको अधिकार क्षेत्रमा परेका घरजग्गा कर र अन्य करमा छुटको व्यवस्था गर्न प्रदेश सरकारलाई आग्रह पनि गरिएको छ । ज्ञापनपत्रमा संघीय सरकारले ल्याएको बजेटले निजी क्षेत्रलाई उत्साहित बनाउन नसकेको उल्लेख गर्दै प्रदेश सरकारको नीति तथा कार्यक्रमको भने प्रशंसा गरिएको छ ।