
नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)ले कर तिर्ने समय थप गरिदिन माग गरेको छ ।
महासंघले मंगलबार अर्थमन्त्रालयमा एक पत्र जारी गर्दै कर रकम बुझाउने म्याद अगामी असार मसान्तसम्म थप गर्न माग गरेको हो ।
सरकारले मंगलबार सूचना जारी गर्दै कर जेठ २५ गतेभित्र तिर्न उर्दी जारी गरेको र समयमै कर नतिरे जरिवाना लगाउने चेतावनी दिएपछि महासंघले सो अवधिमा कर तिर्न नसकिने पत्र मार्फत जानकारी गराएको छ । सरकारको उक्त सूचना सार्वजनिक भएपनि लकडाउनको बेला पनि कर तिर्नको लागि मानिसहरुलाई लकडाउनको उल्लघन गर्न प्रेरित गरेको भन्दै सामाजिक सञ्जालमा बहस सुरु भएको थियो ।

‘कोभिड-१९ को कारणले २०७६ चैत्र ११ गतेदेखि मुलुक लगातार लकडाउनमा भएकोले अति आवश्यक केही उद्योग, व्यापार तथा व्यवसाय बाहेक अन्य सबै प्रकारका उद्योग, व्यापार, व्यवसाय र निर्माण कार्य लगायत आर्थिक गतिविधि ठप्प प्रायः रहेको छ,’ महासंघले उक्त पत्रमा भनेको छ ।
महासंघले आर्थिक वर्षको बजेटले पनि मुलुकको समग्र अर्थतन्त्रले भोगिरहेको कठिन चुनौतिलाई स्वीकार गरिसकेको अवस्था रहेको स्मरण गराउँदै यस्तो अवस्थामा आर्थिक कारोबार मात्र बन्द नभई उत्पादन, वितरण लगायत आपूर्ति प्रणाली समेत अत्यन्त कठिन अवस्थाबाट गुज्रिरहेको पत्र मार्फत जानकारी गराएको छ ।
