गण्डकी प्रदेश सरकारले प्रदेशभित्र राष्ट्रिय प्रसारण लाइनमा तत्काल जोडिने सम्भावना नभएका स्थानमा सरकारी अनुदानमा सौर्य ऊर्जा व्यवस्था गर्ने भएको छ ।
प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्दै प्रदेश प्रमुख अमिक शेरचनले राष्ट्रिय प्रसारण लाइनमा तत्काल जोडिने सम्भावना नभएका मुस्ताङ, मनाङ, म्याग्दी र गोरखा जिल्लाका सात स्थानीय तहका १ हजार १ सय ६० घरधुरीमा सरकारी अनुदानमा सौर्य ऊर्जाको व्यवस्था गरिने बताए ।
यसै वर्ष ‘गण्डकी प्रदेश : उज्यालो प्रदेश’ घोषणा गर्ने प्रदेश सरकारको सङ्कल्प कोरोनाका कारण प्रभावित भएको बताउँदै उनले उक्त कार्य आगामी वर्ष पूरा गरिने जानकारी दिए । नेपाल सरकारसँगको सहकार्यमा गोरखा, नवलपुर, लमजुङ, मनाङ, बागलुङ, म्याग्दी र मुस्ताङ जिल्लाका राष्ट्रिय विद्युत् प्रसारण लाइन नजोडिएका क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनको पहुँच विस्तार गरिने बताए ।
सरकारले प्रदेशको ऊर्जा नीति तर्जुमा गर्दै सौर्य र वायु ऊर्जा तथा जलविद्युत्मा लगानी प्रवद्र्धन गर्न सार्वजनिक–निजी साझेदारी र निजी क्षेत्रसँग सहकार्य गरिने सरकारले जनाएको छ ।