
काठमाडौं- धादिङकी एक महिललाले तिम्ल्याहा शिशुको जन्म दिएकी छिन् ।
काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा धादिङकी २६ वर्षीया सविता तामाङले तिम्ल्याहा शिशु जन्माएकी हुन्।
पहिलो पटक सुत्केरी भएकी तामाङले गर्भ रहेको ८ महिना ६ दिनका दिन सिजेरियन विधिबाट तीन शिशु जन्माएकी हुन्।
चिकित्सकका अनुसार उनले गत वैशाख २० गते राति १०:५४ मिनेटमा पहिलो, १०:५५ मा दोस्रो र १०:५६ मा तेस्रो शिशु जन्माएकी हुन्।
जन्मिएका बेला पहिलो शिशुको तौल १००० ग्राम, दोस्रोको १२५० ग्राम र तेस्रो शिशुको तौल १७०० ग्राम थियो। तीनै बच्चा स्वस्थ छन्।
स्वास्थ्य सामान्य भएपछि २८ औं दिन सोमबार डिस्चार्ज गरिएको प्रसूति गृहले जानकारी दिएको छ।
जुम्ल्याहा बच्चा कसरी जन्मन्छन् ? कसरी बस्छ, जुम्ल्याहा गर्भ ?
थापाथलीस्थित परोपकार म्याटरनिटी तथा महिला अस्पताल (प्रसूति गृह)का निर्देशक तथा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. जागेश्वर गौतमका अनुसार नेपालमा असी जनामा एक जनाको जुम्ल्याहा बच्चा जन्मने गर्छन् । यस्ता बच्चा पाठेघरमा एक भन्दा बढी गर्भ रहेमा बस्ने गर्छ ।
सामान्यतया गर्भधारणका क्रममा गर्भाशय वा पाठेघरमा एउटा गर्भ बस्छ । कहिलेकाहीँ पाठेघरमा एकभन्दा बढी गर्भ रहनसक्छ, जसलाई चिकित्सकीय भाषामा जुम्ल्याहा गर्भ भनिन्छ ।
जुम्ल्याहा गर्भमा गर्भदानी एउटै भए पनि गर्भ भने दुइटा रहनसक्छ । यस्तो गर्भ दुई किसिमको हुन्छ, मोनोजाइगोटिक र डाइजाइगोटिक ।
डा. जागेश्वर गौतमका अनुसार मोनोजाइगोटिक बच्चा तब पैदा हुन्छन्, जब कुनै अण्डा स्पर्मको सम्पर्कमा आएर फर्टीलाइज भएपछि उक्त अण्डा दुई एम्बि्रओको रूपमा विकसित हुने गर्छ ।
यस्ता बच्चाहरूको आणुवंशिक संरचना एकै किसिमको हुन्छ । त्यस्तै, मोनोजाइगोटिक बच्चा एउटै देखिने तथा आइडेन्टिकल -एउटै अनुहार भएका छोरा-छोरा वा छोरी-छोरी हुने गर्दछ । जब कि डाइजाइगोटिक जुम्ल्याहा हेर्दा अलग देखिने गर्दछन् । त्यस्तै, उनीहरूमध्ये एउटा छोरा, अर्को छोरी तथा एउटा बच्चा गोरो तथा अर्को कालो पनि हुनसक्छ ।
डाइजाइगोटिक बच्चा तब जन्मन्छन्, जतिबेला दुई अलग स्पर्मले दुई अलग अण्डालाई फर्टीलाइज गर्छ । दुई अलग देखिने बच्चाहरू जन्मने गर्छन् । यस्ता बच्चाको आनुवंशिक संरचना पनि भिन्नाभिन्नै हुने गर्छ ।