
झापाको मेची अञ्चल अस्पतालको निर्माणाधीन भवनमा कोभिड अस्पताल बनाउन स्थानीयवासीको अवरोध नभएको स्थानीय नागरिक सरोकार समाजले जनाएको छ ।
कोभिड अस्पताल नागरिक सरोकार समाज भद्रपुरले आइतबार पत्रकार सम्मेलन गरी योभन्दा उत्तम विकल्प अरू छैन भने यही भवनमा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डानुसार कोभिड अस्पताल बनाउन सरकारलाई आग्रह गरेको छ ।
समाजका अध्यक्ष भक्त खवासले झापामा कोभिडको प्रकोप बढिरहेको बताउँदै सुरक्षित कोभिड अस्पताल बनाउन ढिलो गर्न नहुने बताए । उनले भने, “कोभिड अस्पतालबाट स्थानीय क्षेत्रमा सङ्क्रमण नफैलियोस्, विपन्नहरुको उपचारको भरोसायोग्य केन्द्र मेची अञ्चल अस्पतालको सेवामा कुनै पनि प्रकारको अवरोध उत्पन्न नहोस् र विश्व स्वास्थ्य सङ्गठनको मापदण्डबमोजिमको अस्पताल बनाउन ढिला नगरियोस् ।”
कोभिड अस्पताल बनाउन अवरोध पुर्याएको भन्दै भइरहेको प्रचारप्रति गम्भीर आपत्ति प्रकट गर्दै समाजको नेतृत्वले स्थानीय सरोकारवालाहरुका तर्फबाट कहिल्यै पनि कोभिड अस्पतालको विरोध नगरिएको जनाएको छ । भद्रपुर नगरपालिकाका पूर्वनगरप्रमुख भारतेन्दुकुमार मल्लिकले विकल्प खोजेर भए पनि चाँडो कोभिड अस्पताल बनाउनुपर्ने सुझाव दिएका छन् ।
झापामा हालसम्ममा १११ जनामा कोरोना सङ्क्रमण भइसकेको छ । तीमध्ये १०० जना कचनकवल गाउँपालिकाका रहेका छन् ।