
बलिउडका चर्चित संगीतकर्मी वाजिद खानको आइतबार अबेर राती निधन भएको छ । भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले स्रोतलाई उद्धृत गर्दै उनको कोरोनाभाइरसका कारण ४२ वर्षको उमेरमा निधन भएको पुष्टि गरेको छ ।
इन्टरटेन्मेन्ट जर्नलिस्ट फारिदुन सर्यारले वाजिदको मृत्यु कोभिड–१९ का कारण भएको ट्वीटमार्फत् जानकारी दिएका छन् ।
उनले लेखेका छन्, ‘चर्चित गायक सोनु निगमले चर्चित संगीतकर्मी वाजिद खानको केही बेर अघि निधन भएको जानकारी मलाई दिए । उनी कोभिड–१९ द्वारा संक्रमित थिए ।’
यस्तै, वाजिदका वाल्यकालका साथी रणवीर शौरीले लेखे, ‘मेरो वाल्यकालका साथीको यस्तो खबर सुनेर दुःखी छु । वाजिदले कोभिड–१९ सामू घुँडा टेको । म शोकमा छु । वाजिद, मेरो भाइ तिमी र तिम्रा परिवारका लागि अँगालोभरीको माया पठाइरहेको छु । यो अत्यधिक दुःखद हो ।’
यस्तै वाजिदका नजिकका साथी गायक सलिम मर्चेन्टले उनलाई याद गर्दै श्रद्धाञ्जली दिएका छन् । उनले ट्वीटरमा लेखे, ‘साजिद वाजिदमार्फत् चर्चित वाजिद खानको निधनको खबर सुनेर म उजाडिएको महसुस गरिरहेको छु । अल्लाहले उनको परिवारलाई शक्ति दिउन् । सेफ ट्राभल वाजिद खान । तिमी निकै छिट्टै गयौ । म शोकमा छु र टुटेको छु । ’
यस्तै, प्रियंका चोपडाले पनि उनको मृत्युमा ट्वीटरमा टिप्पणी गरेकी छिन्, ‘निकै भयानक समाचार । म सधैं साजिद भाइको एउटा कुरा याद गरिरहनेछु, उनको हाँसो । सधैं हाँसिरहने । निकै छिट्टै बिदा भए । उनको परिवार र शोकमा भएका सबैप्रति मेरो समवेदना ।’
Terrible news. The one thing I will always remember is Wajid bhai's laugh. Always smiling. Gone too soon. My condolences to his family and everyone grieving. Rest in peace my friend. You are in my thoughts and prayers.@wajidkhan7
— PRIYANKA (@priyankachopra) May 31, 2020
भारतीय सञ्चारमाध्यमका अनुसार वाजिद लामो समयदेखि मृगौलाको समस्यासँग जुधिरहेका थिए । उनको मुम्बईको एक अस्पतालमा उपचा चलिरहेको थियो । अचानक स्वास्थ्य बिग्रिएपछि उनलाई भेन्टिलेटर सपोर्टमा राखिएको थियो ।