
कपनको तेन्जिङ चोक नजिक बसोबास गर्ने १८ वर्षीया युवतीको पिसिआर रिपोर्ट पोजेटिभ देखिएपछि उक्त क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।
सर्लाहीको रामनगर स्थायी घर भई हाल कपन बसोबास गर्दै आएकी उक्त युवतीमा कोभिड–१९ पोजेटिभ देखिएपछि युवती बसोबास गर्ने क्षेत्रदेखि १५० मिटर वरपर सिल गरिएको बूढानीलकण्ड नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले जानकारी दिए ।
पिसिआर परीक्षणमा पोजेटिभ आएसँगै युवतीलाई शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको आइसोलेशनमा राखिएको छ ।
युवतीका आमा र भाइको रिपोर्ट भने नेगेटिभ आएकोे परिवारले जानकारी दिएको छ ।
युवतीको परिवारले कपनमा फर्निचर व्यवसाय गर्दै आएको थियो।
युवतीको रिपोर्टमा पोजेटिभ आएपछि थप सतर्कता अपनाउनका लागि वडा सिल गर्ने तयारी रहेको प्रवक्ता भट्टराईले बताए। भट्टराईका अनुसार आज ३ बजे बस्ने नगरपालिकाको बैठकले अब कसरी जाने भन्ने निर्णय गर्नेछ ।
यसका लागि थप सुरक्षा अपनाउन वडा सिल पनि गर्न सकिने उनले बताए। उक्त क्षेत्रमा एक टोलबाट अर्को टोलमा हुने आवतजावत रोक्नका लागि प्रहरी र स्वयंसेवक परिचालन गरिएको छ।
यस्तै नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै कोरोना संक्रमितको संख्या २ सय ९१ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको आइतबार बिहान ७:१५ बजेको सूचना अनुसार रौतहट राजपुर नगरपालिका फरहदवा ९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२ र ४८ वर्षीय पुरुष छन्। त्यस्तै, इशना नगरपालिका ३ र ५ निवासी २८, ३० र ३३ वर्षीय पुरुषहरु छन्।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
नेपालमा संक्रमितमध्ये ३६ जना अहिले संक्रमणमुक्त भएका छ्न्। तीमध्ये एक जनाको भने मृत्यु भएको छ। शनिबार सिन्धुपाल्चोक बाह्रबिसेकी एक महिलाको मृत्यु भएको हो। नयाँ संक्रमित यसैमा पर्छिन् या नयाँ हुन् पृष्टि भइसकेकाे छैन ।