
बाँके जिल्लाको क्वारेन्टाइनमा मृत्यु भएका युवाको पीसीआर रिपोर्ट आएपछि मात्र अन्तिम संस्कार गरिने बताइएको छ ।
कोरोना फोकल पर्सन नरेश श्रेष्ठले क्वारेन्टाइनमा मृत्यु भएका युवाको अन्तिम संस्कार रिपोर्ट आएपछिमात्रै गरिने जानकरी दिएका हुन् ।
रिपोर्ट नआउँदासम्म मृतकको शवलाई सुरक्षित ढंगले राखिएको उनले बताए।
‘रिपोर्ट आएपछि मात्रै उहाँको अन्तिम संस्कार गरिन्छ,’ श्रेष्ठले भने ‘जस्तो रिपोर्ट आउँछ त्यही किसिमले उहाँको अन्त्येष्टिको प्रबन्ध गरिनेछ।’
नरैनापुरस्थित दिपेन्द्र मावि, भोजभगवानपुरमा रहेको क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवाको मृत्यु भएको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख मोइन खाँले जानकारी दिए ।
उनी बैशाख ३० गते भारतबाट आएर क्वारेन्टाइनमा थिए ।
गएराती तीन बजे वान्ता हुनुका साथै एक्कासी ज्वरो देखिएको र विहान ६ बजेर ४० मिनेटको मृत्यु भएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेको टोलीले ती युवासहित नरैनापुरबाट हिजो मात्रै २ सय ६३ जनाको स्वाव लिएको थियो ।
नरैनापुरमा आठ जनामा कोरोना देखिएपछि उनको सम्पर्कमा रहेको भनिएका तीन सय जनाको स्वाव लिने स्वास्थ्य कार्र्यालयले जनाइसकेको छ ।
स्वास्थ्य शाखाका प्रमुख खाँका अनुसार, अहिले युवाको शव क्वारेन्टाइनमा रहेको छ ।
कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा छलफल भइरहेको छ ।