
नेपाल भारत सीमामा खटिएका नेपाली सुरक्षाकर्मीमाथि भारतिय नागरिकले आक्रमण गरेका छन् ।
झापाको दक्षिणि भाग कचनकवल १ घेरावारी सीमा सुरक्षामा रहेका सुरक्षाकर्मीमाथि भारतीय नागरिकले बेलुका साढे सात बजे आसपासको समयमा आक्रमण गरेको वडाअध्यक्ष लक्ष्मी यादवले पुष्टि गरेका छन् ।
यादवका अनुसार झापाको कचनकवल गाउँपालिका १ घेराबारीमा रहेको सशस्त्र प्रहरीको सुरक्षा पोष्टमा भारतीय नागरिकले आक्रमण गरेका हुन् ।
शनिबार साँझ करिब २ सय जनाको संख्यामा आएका भारतीयहरुले घेराबारीको झन्टुगाउँमा रहेको सशस्त्र प्रहरीको सुरक्षा पोष्टमा आक्रमण गरेको उनले जानकारी दिए ।
उक्त समूहले सुरक्षाकर्मीमाथि आक्रमण प्रयास गरेपछि सशस्त्र प्रहरीले दुई राउन्ड हवाई फायर गरेको जिल्ला समन्वय प्रमुख सोम पोर्तेलले बताए।
ठूलो संख्यामा आएका भारतीयले सुरक्षाकर्मीमाथि बल प्रयोग गरी नेपाल प्रवेश गर्न खोजेपछि सीमामा तैनाथ सशस्त्र प्रहरीले प्रतिकार गर्दै हवाई फायर गरेका हुन्’, उनले भने, ‘झापा गाउँपालिका वडा नम्बर ४ को सुकुम्बासी बस्तीनजिकै उक्त घटना भएको हो।’
झापा गाउँपालिकास्थित १३१ नम्बर पिलरनजिकै बसेको सशस्त्र प्रहरीको क्याम्पमा उनीहरुले आक्रमण प्रयास गरेको जिल्ला सशस्त्र प्रहरी प्रमुख रेशमकुमार थाक्सूले बताए। ‘ड्युटीमा बसेका सशस्त्रको टोलीमाथि भारतीयहरू घरेलु हातहतियार खुर्पा, खुकुरी, भाला लठ्ठीसहितले आक्रमण गर्न आएका थिए’, उनले भने।
भारतीयहरू आक्रमण गर्ने तवरले उक्त आक्रोशित भीड आएपछि सशस्त्र प्रहरीले हवाई फायर गरेको सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए। हवाई फायरपछि उनीहरू तित्तरवित्तर भएका थिए।
उनका अनुसार भारतीयको आक्रमणपछि सीमा क्षेत्रमा सुरक्षा व्यवस्था अझै कडा पारिएको छ। मंगलबार जिल्लाका सरकारी अधिकारी र सुरक्षाकर्मीको टोली र भारतीय सीमा सुरक्षा बलसँग सहकार्य गरेर दुवैतर्फ सुरक्षा कडा बनाइएको उनले बताए।
लकडाउनका कारण भारतीय नेपाल प्रवेश गर्न नपाउँदा सीमा सुरक्षामा चुनौती थपिएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए। ‘यति बेला सबैले आर्थिक पाटोभन्दा पनि मानव जीवन बाँच्नुपर्छ भन्ने कुरा हो’, उनले भने, ‘व्यावहारिक पाटो सम्बोधन हुन नसक्दा भएको आक्रमण हो, जसका कारण सुरक्षा चुनौती बढेको छ।’
सिंगो गाउँ नै प्रतिकारमा
भारतीयले आक्रमण गर्न थालेपछि नेपाल तर्फबाट सिंगो गाउँनै प्रतिकारका उत्रिएको थियो ।
आक्रमणबाट सशस्त्र प्रहरीको पोष्टमा क्षति भएको छ ।
यही विषयलाई लिएर सासंद राजेन्द्र लिङ्गदेनले यो आक्रमणको भत्सर्ना गरेका छन् । उनले सशक्त प्रतिकार गरेर धपाउन सफल भएकोमा स्थानीयवासी र सुरक्षाकर्मीलाई धन्यवाद समेत दिएका छन् । केही दिनअघि नेपाली भूमिमा अन्नबाली लगाएका भारतीय नागरिकलाई नेपालका सुरक्षाकर्मीले सीमामै रोकेका थिए ।