
काठमाडौं । कोरोना संक्रमणबाट पहिलो पटक मृत्यु भएकी महिलाको एक महिना अघि नै नर्मल डेलीभरी भएको परिवारका सदस्यले जनाएका छन् । चिकित्सकले जेठको अन्तिम साता ‘डेलीभरि डेट’ दिएपनि व्यथाले च्यापेपछि अस्पताल लगिएको थियो ।
अस्पताल पुगेको भोलीपल्ट सामान्य व्यथा लागेर उनले बच्चा जन्माएको उनका आफन्तले जानकारी दिए । मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्लाको राम्चे गाउँपालिका वडा नं ९ की ३० वर्षीय सुत्केरी महिला रहेको बताइएको छ ।
११ दिन अघि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सुत्केरी भै घर फर्किएकी सुत्केरी महिलाको अवस्था जटिल भएपछि उनलाई थप उपचारको लागि धुलिखेल अस्पताल ल्याइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको धुलिखेल अस्पतालले जनाएको छ ।
कोरोना संक्रमणबाट मृत्यु भएकी महिला काठमाडौंको बालाजु/ गोंगबु क्षेत्रमा तरकारी व्यापार गरेर बस्दै आएको खुलेको छ। तर, गर्भधारण यता लामो समयदेखि व्यापारबाट टाढै रहेको खुलेको छ। उनका श्रीमान् नेपाली सेनाबाट राजीनामा दिएर बसेका व्यक्ति हुन्। श्रीमान र उनी बालाजुमै बस्दै आएका थिए।
कोरोना संक्रमणको कारण मृत्यु भएकी उनी सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका वडा ९ राम्चेकी हुन्।