शनिबार धनुषाका थप दुई जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार दुई जना संक्रमितमध्ये एकजना ६५ वर्षीय पुरुष र अर्का २० वर्षीय युवक छन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ८१ पुगेको छ।
आजै स्वास्थ्य मन्त्रालयले धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलामा पनि कोरोना पोजेटिभ देखिएको पुष्टि गरेको छ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपालमा कोभिड-१९ बाट मृत्यु भएको यो पहिलो घटना रहेको जनाएको छ।
सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका, राम्चे निवासी २९ वर्षीया सुत्केरी महिलालाई स्वासप्रस्वासमा समस्या देखिएपछि धुलिखेल अस्पताल लगिएको थियो।
मन्त्रालयले उनको अस्पताल लाने क्रममा मृत्यु भएको जनाएको छ। उनले गत वैशाख २४ गते काठमाडौंको टिचिङ अस्पतालमा शिशुलाई जन्म दिएकी थिइन्।