
काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयले मृतक महिलामा कोरोना संक्रमण पुष्टि भएको बताएको छ ।
कोरोना संक्रमणको शंकामा उनको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकोमा ‘रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमितको उपचारका लागि तोकिएको धुलिखेल अस्पतालमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ घर भएकी २९ वर्षीया युवतीको १ जेठ राति मृत्यु भएको थियो।
त्रिवि शिक्षण अस्पतालमा नौ दिनअघि सुत्केरी भएकी उनलाई अस्पतालबाट घर फर्केपछि श्वासप्रश्वासमा समस्या देखिएको थियो र त्यसपछि धुलिखेल अस्पताल पु¥याइएको थियो।
धुलिखेल अस्पतालका डा. रमेश मकाजु श्रेष्ठका अुनसार अस्पताल पुर्याउनासाथ उनको मृत्यु भएको थियो। त्यसपछि धुलिखेलमै गरिएको स्वाब परीक्षणमा उनमा कोरोना संक्रमण देखिएको थियो। त्यसलाई पुनः पुष्टि गर्न उनको स्वाब संकलन गरेर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाइएको थियो।
यसरी गरिन्छ अन्त्येष्टि
कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनका लागि सरकारले छुट्टै कार्यविधि बनाएको छ । त्यसअनुसार नै मृतकको शव धुलिखेल अस्पतालबाट नेपाली सेनाको टोलीले काठमाडौं ल्याएको छ । सुरुमा एम्बुलेन्समा परिवारको सदस्यलाई राखिएको थियो, जसमा उनका श्रीमान थिए । त्यसपछि प्रहरीको स्कटिङ र शव बाहनमा मृतकको शव राखिएको थियो । त्यसपछि फेरि सेनाले स्कटिङ गरेको थियो ।
मृृतकको शनिबार नै पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिनेछ । कार्यविधिअनुसार अन्त्येष्टिमा सहभागीहरुले पञ्जा, चस्मा, टोपी, मास्कसहित पीपीई लगाउनुपर्छ । मृतकका आफन्तले शव छुन समेत पाउँदैनन् । आफन्तले हेर्न चाहेमा कम्तिमा एक मिटर टाढाबाट एकएक जनालाई पालैपालो हेर्न दिइनेछ भने आफ्नो परम्पराअनुसार शवलार्ए नछोई जल छर्कने,पाठ गर्ने तथा फूलमाला चलाउने जस्ता क्रियाकलाप गर्न पाइनेछ ।