
धुलिखेलमा बिहीबार मृत्यु भएकी महिलाको गाउँ र माइती गाउँलाई सिल गरिएको छ ।
उनको गाउँ बाह्रबिसे नगरपालिका – ९ राम्चे र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ लाई सिल गरिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए ।
अब ती वडाबाट कोही व्यक्ति बाहिर आउन र वडाभित्र प्रवेश गर्न पाउने छैनन् ।
धुलिखेल अस्पतालमा २९ वर्षकी सुत्केरी महिलाको मृत्यु भएको र उनी कोरोना भाइरसको सम्भावित संक्रमित रहेकाले पूर्वतयारी स्वरुप उनको गाउँ र माइती गाउँ क्षेत्रमा सचेतना अपनाइएको उनले बताए ।
शनिबार दिउँसो मृतकको श्रीमान, सासु र नन्दको स्वाब संकलन गरिएको छ।
वैशाख २३ गते टिचिङ अस्पतालमा भर्ना भएर २४ गते सुत्केरी भएपछि उनी २५ गते डिस्चार्ज भएर घर गएकी थिइन्।
घरमा पुगेपछि ज्वरो, स्वासप्रश्वासलगायत शारीरिक समस्या आएपछि धुलिखेल अस्पतालमा ल्याइएको थियो।
आरडीटी परीक्षण रिपोर्ट पोजिटिभ आएपछि उनको पीसीआर परीक्षण गरिएको थियो।
पीसीआर रिपोर्ट पनि पोजिटिभ आएको स्रोतले जानकारी दियो। तर मन्त्रालयले अध्ययन गर्ने भन्दै रिपोर्ट सार्वजनिक गरेको छैन्।